भदौ—२२, स्याङ्जा ।
स्याङ्जामा विविध कार्यक्रम गरी २१ औं निजामती सेवा दिवस मनाइएको छ । हरेक वर्षको भदौ २२ गते देशभरका निजामती कर्मचारीहरुले सेवा दिवसको रुपमा मनाउदै आएका छन् । यो दिनलाई नेपालका निजामती कर्मचारीहरुले बिशेष दिनको रुपमा लिदै आएका छन् । २१ औं निजामती सेवा दिवस २०८१ को अवसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा कर्मचारी मिलन केन्द्र, निजामती कर्मचारी आधिकारीक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठनको सह—आयोजनामा मनाइएको हो ।
कार्यक्रममा कर्मचारीहरुले संघीय निजामती सेवा ऐन छिटो ल्याउन माग गरेका थिए । सेवा ऐन छिटो नआउँदा तीनैतहका कर्मचारीमा समस्या पैदा हुने गरेको उनीहरुको भनाई थियो । सरकारले निजामती ऐन ल्याउने प्रयास गरेपनि संसदमा विचाराधिन रहनु अत्यन्तै दुःखद रहेको कर्मचारीहरुले बताएका छन् । धेरै वर्षदेखि संसदमा थन्किएको संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा कर्मचारीहरुले गर्नुपर्ने कार्यसम्पादनमा प्रश्न उठ्न थालेको उनीहरुको गुनासो छ ।
अधिकांश कर्मचारीहरुले संघीय निजामती ऐन ल्याउन माग गर्दै २१ औं निजामती सेवा दिवसले ऐन ल्याउन सघाउ पुग्ने बताएका थिए । निजामती ऐन समयमा नआउदा तीनैतहका कर्मचारीलाई मार्ग निर्देशन गर्न असहज हुने गरेको स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाई छ । नेपालको निजामती सेवा जनताको सेवक हो सप्रजिअ पौडेलले भन्नुभयो,‘निस्वार्थ भावनाले काम गर्ने वातावरण बनाइनुपर्छ ।’ अहिलेको निजामती सेवाले जनताको विविध प्रकृतिका काम गर्नुपर्ने अवस्था छ उहाँले भन्नुभयो । साँघुरो प्रशासनिक सेवालाई सार्वजनिक सेवामा गएको अवस्थामा निजामती सेवा ऐन आउन ढिला गर्न नहुने सप्रजिअ पौडेलले बताउनुभयो । नागरिकको सेवा प्रवाहमा कुनै कसर बाँकी नराखेर कानुन सम्मत ढंगबाट मुस्कान सहितको सेवा दिन सबै कर्मचारीलाई पौडेलले निर्देशन दिनुभयो ।
निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएका खेलकुद, हाजिरी जवाफ लगायतका कार्यक्रममा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । दिवसकै अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको निमित्त प्रजिअ पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको सुरुमा जिल्ला सदरमुकाममा प्रभातफेरी समेत निकालिएको थियो ।