जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटि जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ।
बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो। यो क्रम असार १३ गते आइतबारसम्मै रहने बताइएको छ।
‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ,’ महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा भनिएको छ।
महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कुनकुन जिल्ला जोखिममा छन्?
असोज १० देखि १३ गतेसम्म कोशीका ११, मधेसका सिराहा, सप्तरी, पर्सा, बागमतीका काठमाडौंसहित दोलखा बाहेकका १२, गण्डकीका १० जिल्ला उच्च जोखिममा छन्। गण्डकीको मनाङ मध्यम जोखिममा छ।
त्यस्तै लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका ३ जिल्ला उच्च जोखिममा छन्। १९ जिल्ला मध्यम जोखिम र मुगु र हुम्ला निम्न जोखिममा रहेको महाशाखाले बताएको छ।
कहिले के हुन्छ ?
बिहीबार ः बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको चेतावनी दिइएको छ। तराईमा हावाहुरी चल्नेछ।
शुक्रबार : शुक्रबार पनि देशभर वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थान तथा मधेशका थोरै स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ।
शनिबार : अधिकांश स्थानमा वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी, गण्डकी तथा कर्णालीका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
आइतबार : आइतबार बिहानसम्म वर्षा हुनेछ। देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि आइतबार दिउँसोदेखि मौसममा सुधार आउने मौसमविद् मानन्धरले बताइन्। गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यी हुन् रेडअलर्ट जारी भएका ५६ जिल्ला
कोशी : झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर
मधेश : सिराहा, सप्तरी र पर्सा
बागमती : मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप
गण्डकी : म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ
लुम्बिनी : रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया
कर्णाली : जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान
सुदूरपश्चिम : कैलाली, डोटी र अछाम