Logo

आइतवार, कार्तिक २ गते २०८३

images

प्रतिष्ठानको २४औं केन्द्रीय वार्षिक साधारणसभा तथा विधान अधिवेशन, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष परियारको सुझाव सार्वजनिक

प्रतिष्ठानको २४औं केन्द्रीय वार्षिक साधारणसभा तथा विधान अधिवेशन, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष परियारको सुझाव सार्वजनिक

  • गोपाल जिटी
  • शुक्रवार, आश्विन ११ २०८१


  • प्रतिष्ठानको २४औं केन्द्रीय वार्षिक साधारणसभा तथा विधान अधिवेशन, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष परियारको सुझाव सार्वजनिक

    असोज ११, स्याङ्जा । 
    कुनै पनि संघ संस्थाको विधान सभालाई विशेष महत्वकासाथ हेरिन्छ । किनकि संस्थागत विकासका लागि समय समयमा विधान संशोधनसहित नयाँ कार्यनीति तय गर्दैजानु आवस्यक हुन्छ । यहि मान्यता अनुसार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४औं केन्द्रीय वार्षिक साधारणसभा तथा विधान अधिवेशन गण्डकी प्रदेशको पोखरामा आज समुद्घाटन हुँदै छ । आज र भोलि गरी दुईदिनसम्म चल्ने विधान अधिवेशनले प्रतिष्ठानलाई नयाँ उचाई दिने अनुमान गरिएको छ । संस्थाका नीतिगत कुराहरुलाई समयको माग र आवस्यकतालाई मध्येनजर गर्दैजानुले संस्थागत महत्व राख्दछ ।
    २०५८ सालमा स्थापना भएको प्रतिष्ठानले २४ वर्षे संस्थागत इतिहास निर्माण गरिसकेको छ । यो साधारणसभा तथा विधान अधिवेशनमा प्रतिष्ठानका पदाधिकारी, जिम्मेवार सदस्य एवम् सरोकारवालाहरुले आ—आफ्ना तर्फबाट संस्थाको भावी कार्य दिशाका सन्दर्भमा विचारहरु राख्नेछन् । 
    यसै सन्दर्भमा प्रतिष्ठान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष पूर्ण परियारले कार्यक्रमको भव्य सफलताको कामना सहित बिभिन्न २५ बुँदे सुझाव मिडिया मार्फत सार्वजनिक गर्नुभएको छ ।
    सुझावसँगै विगतका साधारणसभा र विधान अधिवेशनहरु भन्दा अझै यो उत्सव बेग्लै र प्रतिष्ठानको इतिहासमा सम्झना लायक रहने वरिष्ठ उपाध्यक्ष परियारको विश्वास छ । परियार भन्नुहुन्छ, “अबको महाधिवेशन कस्तो बन्ने ? अबको महाधिवेशनसम्म पुग्दा के कस्ता तयारी गरेर जाने भन्ने विशेष तयारीको बेला यही विधानसभालाई उपयोग गर्नुपर्दछ । हामीले संस्था कस्तो बनाउन चाहन्छौ, त्यसको चित्र कोर्ने बेला यही हो । त्यसैले समयलाई भरपुर उपयोगगरी घनिभुत छलफल गर्न जरुरी देखिन्छ ।”
    साधारणसभाको शुभकामना सहित वरिष्ठ उपाध्यक्ष परियारका सुझाबहरु यस्ता छन् ः
    १.जिल्ला प्रदेश र केन्द्रमा संरक्षक र सल्लाहकारहरुको संख्या र योग्यता के हुने स्पष्ट हुनेगरी विधानमै लेख्ने या विधान सम्मत बिनियम बनाएर जाने छलफल हुन जरुरी छ ।
    २.मौलाउदै गरेको प्रत्यक्ष दोहोरी उत्पादक कम्पनी तथा च्यानल र कलाकारहरुप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको धारणामा लेख्ने या कार्यनीतिमा हुनुपर्ने गरी अब बहस र छलफल गर्ने बेला आएको छ ।
    ३.राज्यले नै संगीत बिकासबोर्ड र यसको सेन्सर गर्ने आँट नगरेको वा जरुरी नठानीरहेको अवस्थामा, विकृती न्यूनीकरण समिति त हाम्रो संस्थाभित्र छ तर यो समितिका प्रयासलाई र मान्नैपर्ने औचित्यहरुको बारेमा बृहत् छलफल हुनुपर्ने देखिन्छ । साथै समितिको कार्यविधि अहिलेसम्म के छ छैन भने स्पष्ट हुनु जरुरी छ । त्यसैले यो साधरणसभाले छलफल गर्न सक्नुपर्छ र नीतिको व्यवस्था हुनुपर्दछ ।
    ४. सरकारसँग अबको प्रतिष्ठानको सम्बन्ध के हुने ? लोकदोहोरी बिकास बोर्ड गठनलगायत कलाकारका पक्षमा सरकारले हेर्ने विषयहरुकाबारेमा पैरवी गरिरहने संस्था हुनेकी दर्ता अनुसार राज्यको एउटा गैरसरकारी संस्था मात्रै हुने बारेमा स्पष्ट नीति हुनु जरुरी छ ।
    ५. प्रतिष्ठानको अहिलेसम्मको अभ्यास अधिवेशन, महाधिवेशनका बेला एकपटक त्यो पनि सधैं पहिलो र अन्तिम पटक सदस्यता वितरण गर्ने अभ्यास गरिँदै आइएको छ । अब कोष निर्माणका लागि सदस्यता वितरण गर्ने परम्परालाई संशोधन गर्दै संगठीत सदस्यहरुको अध्यावधी गर्नेगरी निवर्तमान गण्डकी प्रदेश समितिले मेरो संयोजकत्वमा एउटा ढांचा तयार गरेको थियो, कति पूरा भएका छन् होला त कति तत्काल बाँकी रहे । यो संस्थाको सदस्यता लिएको कहिले हो ? को पुरानो हो ? को नयाँ ? यसको लेखाजोखा हुनेगरी दस्ताबेजीकरण हुन जरुरी छ । साथै सदस्यता सम्बन्धी व्यवस्थालाई संशोधन गर्नुपर्ने अबको आबश्यकता हो । त्यसैले हामीले बिगतमा गरेका लिखत व्यवस्थालाई कार्यान्वयनमा लैजाऔं, कलाकरितामा लागेका व्यक्तिहरुलाई मात्रै सदस्यता दिने प्रण गरौं । साथै सदस्यताको अध्यावधिक विवरण अनलाइन तथा संस्थाको आधिकारिक वेबसाइटमा उपलब्ध गराउने व्यवस्था हुन सके संस्थामा सुशासनको उदाहरण दिने नजिर हुनेछ ।
    ६.आजीवन सदस्यता वितरणको मापदण्ड, योग्यता तथा अधिवेशन महाधिवेशनमा प्रतिनिधित्वकाबारेमा बृहत् छ्लफल गरिनुपर्ने अबको आवश्यकता हो ।
    ७.प्रदेश समितिमा महासचिव र २ जना सचिवको व्यवस्था हुनेगरी विधानमा  समावेश गर्न जरुरी देखिन्छ ।
    ८.व्यक्तिलाई संरक्षण गर्ने प्रक्रियाबाट माथि उठेर विधिलाई कामकाजी बनाउनेतर्फ सोच्नु जरुरी हुन्छ । त्यसैले केन्द्रीय समितिमा सचिवहरुको संख्या घटाएर महासचिव र सचिव २ जना मात्रै हुँदा कार्यकारी बन्ने देखिन्छ । प्रदेश संयोजन गर्ने समन्वयकारी जिम्मेवारी प्रदेश कोटामा निर्वाचित केन्द्रीय सदस्यलाई प्रदानगरी कार्यकारी भूमिका प्रदान गर्न जरुरी देखिन्छ । यसो गर्दा जिम्मेवारीको दुविधा घट्दछ ।
    ९.जिल्ला समितिहरुले संघीयताको मर्म अनुरुप अब सम्भव हुने पालिकाहरुमा स्थानीय प्रतिष्ठान गठन गर्न पाउने सुबिधा खुल्ला छोड्नेगरी नीतिको व्यवस्था गर्नुपर्छ ।
    १०.केन्द्रीय उपाध्यक्षहरु या त प्रदेश अनुरुप जिम्मेवारी दिनेगरी ७ जनाको परिकल्पना गरिनुपर्छ या त वरिष्ठ प्रथम र द्वितीय उपाध्यक्ष हुँदा नै ठीक हुने यो विषयमा पनि छ्लफल गर्न सके महाधिवेशनलाई सहज हुनेछ ।
    ११.यो गरिमामय सभाले सकेसम्म प्रतिष्ठान निर्वाचन कार्यविधि नै बनाएर समाबेशी समिति बनाउने तर्फ पनि ध्यान दिन जरुरी छ ।
    १२ केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य पदाधिकारीले उम्मेदवारी दर्ता गर्दा सम्बन्धित जिल्ला या प्रदेशबाट सिफारिस भएको हुनुपर्ने व्यवस्था गर्न सके जिल्लाप्रति जवाफदेहिता बढ्ने छ ।
    १३. प्राविधिक कारण संस्थाको माया मुटुमा बोकेर बाहिर रहनेहरुको अस्तित्वलाई स्वीकार गर्न सक्नुपर्ने कार्यनीतिको लागि बहस र छलफलगरी स्पष्ट नीति बनाउन सक्नुपर्दछ । यसो गर्दा संस्थाले कसैलाई पनि गुमाउनु पर्दैन । निवर्तमान र पूर्व पदाधिकारीको बरियाताक्रमको जसरी व्यवस्था भएको छ, त्यसलाई कार्यान्वयन गर्नका लागि यो सभामा बृहत् छलफल हुँदा भविष्यमा विगतका कमजोरी दोहोरिने सम्भावना घटेर जान्छ ।
    १४.पुरस्कार तथा सम्मानमा सहज बनोस भन्ने उद्देश्यले हामीले गण्डकी प्रदेशमा हरेक पुरस्कार तथा सम्मानका लागि कार्यविधि बनाएर कार्यन्वयनको सोच शुरु गरेका थियौं । सायद केन्द्र तथा अन्य प्रदेश र जिल्लाहरुमा यो विधि उपयुक्त हुनसक्ने देखिन्छ । जसका कारण पुरस्कार तथा सम्मानको आँफैमा सम्मान देखिन्छ । त्यसैले सम्मान तथा पुरस्कार ब्यबस्थापन कार्यविधिका लागि सभाले अनुमती लिनु सान्दर्भिक देखिन्छ ।
    १५.दोहोरीगीत प्रतिष्ठानले प्रतियोगिता गर्नुपर्छ, यो हाम्रो पहिचान हो । तर परिवार बढ्यो संस्था झांगिदै गयो, अब यसलाई सहि मार्गमा हिडाउनका लागि ,परिमार्जित संस्थागत आचारसंहिता तयारगरी समय समयमा प्रशिक्षण, खोज अनुसन्धान र प्रकाशन जस्ता प्राज्ञिक कार्यहरु गर्न जरुरी छ । ७ जेठ २०८० देखि वेबसाइट नै अपडेट भएको जस्तो देखिदैन । अबका संस्थाहरु प्रविधिमैत्री हुन जरुरी छ । त्यसैले कारोबार डिजिटल बनोस्, कार्यशैली डिजिटल बनोस र एउटा विश्वविद्यालय जत्तिकै गरिमा बोकेको यो संस्थाका हरेक गतिविधी आफ्नो वेबसाइटमा अपडेट भइरहनेगरी ब्यवस्थापन गर्न जरुरी देखिन्छ । विद्वान र बुद्दिजिवीको जमघट हुने यो साधारणसभाले अब यो वर्ष गरिने कामहरुको खाका तयार गर्नुपर्छ । 
    संस्थालाई जति साझा बनाउन सक्यो, त्यति उचाई बढ्ने सोचका साथ प्रतिष्ठानको उचाइ र गरिमा बढाउन हामी सबैलाई प्रेरणा मिलोस साधारणसभा भव्य सफलताको शुभकामना ।

    शुक्रवार, आश्विन ११ २०८१०१:३६:५२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend