कार्तिक—१८, वालिङ ।
स्याङ्जाको अर्जुनचौपारी खाल्टेका भीमबहादुरको भैंसी गोठमा आगोलागी भएको छ । अर्जुनचौपारी गाउँपालिका २ खाल्टेका भीमबहादुर अधिकारी क्षत्रीको भैंसी गोठमा आईतबार विहान आगोलागी भएको हो । क्षत्रिको ढुंगामाटोले बनेको कच्ची गोठमा आगोलागी हुँदा पशु चौपायको क्षति भने भएको छैन् । आगोलागी भएको थाह पाउनसाथ छिमेकिहरु आएका हुँदा गोठमा भएका भैंसी र बाख्रा जोगाउन सफल भएका हुन् । गोठमा एक भैंसी र १० वटा बाख्रा रहेका थिए ।
गोठमा भएको भैँसी, बाख्रा स्थानीयको सहायताले सुरक्षित रुपमा बाहिर निकाल्न सफल भएको भीमबहादुरकी श्रीमती भीमकुमारी अधिकारीले बताउनु भयो । खरको छाना र मकैको खोस्टालगाएत सुख्खा बस्तु गोठमा रहेका थिए भने छिमेकीहरुको प्रयासमा पशु चौपाय जोगिए पनि छाना र काठमा लागेको आगो निभाउन नसकिएको भीमकुमारीले बताउनुभयो ।
भीमकुमारीले विहान उठेर अगेनाबाट खरानी उठाएर गोठको पालीमुनि बोरामा राख्नुभएको र त्यसैबाट आगो निस्केको हो । बोरा नजिकै मकैको खोस्टा, सुकेका घाँस परालमा खरानीबाट निस्किएको आगो सल्किएको र गोठको छानासम्म पुगी जलाएर नष्ट गरेको हो । श्रीमान दुई दिन अघि मात्र भाईटिका लगाउन मधेस जानुभएकाले भीमकुमारी घरमा नाति नातिनाको साथमा हुनुहुन्थ्यो ।