मङ्सिर १५, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाको बास्तरा खोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बास्तराखोलाको राक्सेघाटमा शनिबार मोटरेबल पुलको शिलान्यास गर्नुभएको हो ।
बिरुवा गाउँपालिका १ स्थित राक्सेघाटको पुल शिलान्यास गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री केसीले पुल बनाउने जिम्मा पाएको “हिम निर्माण सेवा कम्पनी” लाई निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । २०८० फागुन १८ मा सम्झौता गरेको ठेकेदार कम्पनीले २०८२ फागुन १८ मा सम्पन्न गर्नुपर्ने छ । केहि ठेकेदारहरुले समयमा निर्माण सम्पन्न नगरेका धेरै उदाहरण छन्, त्यस्तो नहोस, बजेटको अभाव हुदैन, समयमा काम सम्पन्न गर्नुपर्छ, गण्डकी प्रदेश मन्त्री केसीले निर्देशन दिनुभयो । उहाँले २०६१ सालदेखि निकै पहल गर्दै आएकोमा यतिका वर्षसम्म पनि हुन सकेको रहेनछ, अब भने पुल बन्ने पक्का भएको उल्लेख गर्नुभयो । वडा नम्वर १ र ८ जोड्ने पुल निर्माणका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, जो जसले पहल गर्नुभयो, सबैजना प्रति सम्मान छ । यसैगरी विकास निर्माणको काममा सक्रीय भूमिका रहिरहोस शुभकामना छ, उहाँले भन्नुभयो । धेरैले प्रदेश सरकारले केहि गरेन, काम छैन भन्ने सुनेको छु । यसरी जनतासँग जोडिएर जनताको आवश्यकता पहिचान गरेर समस्या समाधानमा लागेको छ । त्यसैले प्रदेश सरकारको काम छैन भन्नु कुप्रचारमात्र भएको उहाँको भनाई छ । प्रदेश सरकार नभएको भए यो पुल निर्माण गर्न अझै कति समय लाग्थ्यो होला भन्ने हामी सबैले बुझ्नुपर्ने मन्त्री केसीले उल्लेख गर्नुभयो । विकास निर्माणमा यो पार्टी त्यो पार्टी नभनौं, सबै मिलेर गर्ने कुरा हो । त्यसैले निर्माणका क्रममा कसैले पनि असहयोग नगर्न उहाँको आग्रह छ । जनताको करबाट संकलित रकमबाट विकासका कामहरु हुने भन्दै मन्त्री केसीले यो वा त्यो बहाना बनाएर निर्माण कार्यमा ढिलासुस्ती नगर्न र समयमै सम्पन्न गर्न मन्त्री केसीले ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।
पूर्वाधार विकास कार्यालय स्याङ्जा मार्फत गण्डकी प्रदेशको ४ करोड ९२ लाख ७१ हजार २१ रुपैयाँ ५८ पैसाको लागतमा पुल निर्माण हुने भएको हो । पुल ३० मिटर लम्वाई र ६ मिटर चौडाईको बन्ने छ । गाउँपालिकाको ८ र ७ नम्वर वडा हुँदै वालिङ नगरपालिकाको १ नम्वर वडाको त्रियासीमा कच्ची सडक आएर सिद्धार्थ राजमार्गसँग जोडिएको छ । यो पुल निर्माणसँगै अब बाह्रै महिना सहज हुनेछ भने बिरुवादेखि २० किलोमिटरमा वालिङ नगरपालिकासँग जोडिने छ ।
कार्यक्रममा पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सिनियर डिभिजन इञ्जिनियर दयारामा अधिकारीले पुल निर्माण सम्बन्धमा जानकारी गराउनु भएको थियो । 

