कार्तिक २७, वालिङ । स्याङ्जाको वालिङमा पत्रकार आचार संहिता र कोभिडले मिडियामा पारेको प्रभाव विषयक अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जाको संयोजन र प्रेस काउन्सील नेपालको आयोजनामा अन्तरक्रिया गरिएको हो । जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको अन्तरक्रियामा पत्रकारहरुले आ–आफ्ना जिज्ञासा तथा गुनासाहरु व्यक्त गरेका थिए ।
कोभिड १९ सक्रमणको जोखिमका बाबजुद पनि पत्रकारले अग्र भागमा खटेर काम गरिरहेको उल्लेख गर्दै सहभागीहरुले न्युनतम पारिश्रमिकको कार्यान्वयन नहुंनु र नियमित पारिश्रमिक नपाउनु, नियुक्ति पत्र नपाउनु, वषौंसम्म पनि स्टिन्जरमै सीमित हुंनु लगायतका कारण व्यवसायिक पत्रकार फष्टाउन नसकेको बताएका थिए । संचारमाध्यम वर्गीकरण हुनुपर्ने भन्दै दुर्गम र सुगम स्थानका सञ्चार माध्यमलाई दिईने लोक कल्याणकारी विज्ञापन समान भएको भन्दै दुर्गम तथा भौगोलिक विकटतालाई प्राथमिकतामा राख्नुपर्ने उनिहरुको भनाइ छ ।
कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खाँंणले पत्रकारिता स्वच्छ र पूर्ण स्वतन्त्र हुनुपर्ने बताउनुभयो । साथै प्रमुख खांणले पत्रकारिता विकासका लागि आवश्यक फण्ड समेत संस्थागत रुपमा उपलब्ध गराउन तयार रहेको बताउनुभयो । पत्रकारले सिंगो देशलाई परिर्वतन गर्न सक्ने भन्दै सत्य तथ्य समाचार सम्प्रेसण गर्नुपर्ने भन्दै बढ्दो सूचना र प्रविधिलाई ध्यानमा राख्दै पत्रकारिता नीति नियम बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले पत्रकारिता राज्यको आंँखा भएको उल्लेख गर्दै जनतालाई सुसुचित गराउने कार्य पत्रकारिताले गरेको बताउनुभयो । पत्रकारिता ऐन नियमभित्र रहेर काम गर्नुपर्ने भन्दै गल्ती सच्याएर अगाडि बढ्नुपर्ने उपप्रमुख तिवारीको भनाई छ । स्थानीय तहमा रहेका विज्ञापन वितरणमा समानता हुंने भन्दै उपप्रमुख तिवारीले स्थानीय सरकार कुनै आग्रह पुर्वाग्रह रहित भएको बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सीलका केन्द्रिय सदस्य दुर्गा भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकारका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । त्यस्तै काउन्सीलका वरिष्ठ प्रशासन सहायक महेन्द्र सिंह धामीले पत्रकारिता स्वतन्त्रताका लागि काउन्सील आएको भन्दै आचार संहितामा रहेर काम गर्न आग्रह गर्नुभयो ।