माघ ९, वालिङ ।
स्याङ्जामा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पत्रकारहरुसंँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्लामा क्रियाशील पत्रकारहरुसंँग छलफल तथा अन्तरक्रिया गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालले पत्रकारहरुले समाजमा लुकेर रहेका समस्या, विकृत्ति र विसंगतिलाई उजागर गर्दै सभ्य समाज निर्माणमा अहम भुमिका निर्वाह गरेको बताउनुभयो । प्रशासनले समाजमा सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेको भन्दै पत्रकारहरुद्वारा राखिएका जिज्ञासाका विषयमा प्रष्ट्याउनुभएको थियो । साथै प्रजिअ नेपालले प्रशासनले प्रत्येक महिनामा बजार अनुगमन गर्ने, मनसुन जन्य बिपदमा परेको हकमा राहत, उद्धार र पुनर्निर्माणको काममा जुटेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपि हरिप्रसाद पौडेलले पत्रकारले राखेका सवारी भाडा, सिट क्षमताभन्दा धेरे यात्रु राख्ने, जुवातास खेल्नेलगायतका कार्य भएको देखेमा जानकारी पाएको खण्डमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । यसका लागि प्रहरी एक्लैको प्रयासमा सम्भव नभएको भन्दै नागरिकले पनि साथ दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका अवसरमा पत्रकार महासंघ स्याङ्जाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथ शुभकामना व्यक्त गरिएको थियो ।