माघ १२, पाल्पा ।
पाल्पाको रामपुरमा लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समिक्षा तथा छलफल कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाले लैङ्गिक समानता र सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समिक्षासहित छलफल गरेको हो ।
आर्थिक वर्ष २०८०÷०८१ को योजना कार्यक्रमहरुको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण र आर्थिक वर्ष २०८१÷०८२ को योजना कार्यक्रमको लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समिक्षासहित छलफल गरेको हो । गत आर्थिक वर्षमा सञ्चालन भएका योजना मध्ये लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विभिन्न सूचकको आधारमा भए गरेका कार्यक्रम र यसको समिक्षा गरिएको छ । जस अन्तर्गत आर्थिक वर्ष २०७९÷०८० मा भन्दा २०८०÷०८१ मा सञ्चालन भएका योजना तथा कार्यक्रम लैङ्गिक समानता र सामाजिक समावेशीकरण बढि भएको पाईएको छ । लैससासको विभिन्न सूचकमा प्राप्त गरेका अङ्कका आधारमा आर्थिक वर्ष २०८०÷०८१ मा ९१.५ अङ्क प्राप्त गरेको छ । यसैगरी आर्थिक वर्ष २०७९÷८० मा ८४ अङ्क प्राप्त गरेको थियो भने ०८०÷०८२मा ७.५ अङ्क बढेर ९१.५ अङ्क प्राप्त गरेको छ । यसका आधारमा रामपुर नगरपालिकामा सञ्चालन तथा कार्यान्वयन भएका योजना तथा कार्यक्रम लैङ्गिक समानता र समाजिक समावेशीकरणमुखी देखिएको छ । लैससासको ५ वटा सूचक मध्ये नीति कानुन योजनामा १९, संस्थागत व्यवस्थामा १८, मानव संसाधन तथा क्षमता विकासमा १८.५, सेवा प्रवाहमा १८, सुशासन तथा उत्तरदायित्वमा १८ अङ्कसहित प्राप्त अङ्कको आधारमा बढी लैङ्गिक समानता र समाजिक समावेशीकरणमुखी बन्दै गएको छ । यस्तै यस आर्थिक वर्षको बजेट लैङ्गिक उत्तरदायीमा सहयोगी देखिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था पश्चात संविधानले प्रदत्त गरेका हरेक नागरिकको अधिकारलाई पूर्ण रुपमा प्रदान गर्नका लागि नगर सरकार प्रतिबद्ध भएर लागेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । सबैलाई समान र समतामूलक अधिकार प्रदान गर्नका लागि लैङ्गिक समानता र सामाजिक समावेशिकरणयुक्त बजेट विनियोजन तथा योजना निर्माण गर्दै आएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा अझ बढि लैङ्गिक उत्तरदायी बजेट विनियोजन गरी योजना सञ्चालनमा ल्याएर समृद्ध नगरपालिका निर्माणका लागि प्रतिबद्ध भएर लागेको उहाँले उल्लेख गर्नुभयो ।
सार्वजनिक वित्त व्यवस्थान परियोजना पाल्पाका संयोजक सूर्य किसनले नगरपालिकाले सञ्चालन गरेका योजना र कार्यक्रमका आधारमा अङ्क प्राप्त गर्ने भन्दै यसलाई अझ बढाउन आग्रह गर्नुभयो । यसका लागि सूचकको आधारमा योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक उहाँको भनाई छ । लैससासको अवधारणा अनुसार धेरै काम भए पनि कतिपय कागजी प्रक्रिया पूरा गर्न नसक्दा अङ्कका आधारमा केही कमजोर देखिए पनि लैंगिक उत्तरदायी वजेट विनियोजन भई काम भएको महिला बालबालिका शाखाका प्रमुख पूजा परियारले बताउनुभयो ।