माघ २२, पाल्पा
पाल्पाको रामपुरमा जीवन उपयोगी सीप विकास सम्बन्धी तालिम सुरु गरिएको छ । नगरपालिकाले सडक मर्मतकर्मीहरुलाई “श्रमिकहरुका लागि कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास सम्बन्धी” ५० दिने तालिमको आयोजना गरेको हो ।
नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत नगरपालिकाले तालिम सञ्चालन गरेको हो । तालिममा वडा नं.२,४,६,७ र ८ नम्बर वडाबाट छनौट भएकाहरुलाई सहभागी गराइएको छ । तालिम कार्यक्रम अन्तर्गत प्राथमिकिकरणको आधारमा वडा÷वडाबाट छनौट भएका सुचिकृत वेरोजगारहरुलाई तालिम दिईएको हो । तालिममा जीवन उपयोगी सीप सम्बन्धी १० दिन र कार्यस्थलमा आधारित सीप ४० दिन प्रदान गरिनेछ ।
मङ्गलबार तालिमको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले मानिसको जीवनमा सीप महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ज्ञान र सीपलाई पैसा संँग तुलना गर्न नहुने भन्दै सक्षम र दक्ष बन्नका लागि सीपको विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । आपूmसंँग ज्ञान सीप र दक्षता भए स्वरोजगार र आत्मनिर्भर बन्न सकिने प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो ।
यसैगरी वडा नं.५ का अध्यक्ष दुर्गाप्रसाद पोखरेलले दक्षता र सीपले मानिसलाई सफल बनाउने र आर्थिक समृद्धि पनि सीपबाटै सम्भव रहेको बताउनुभयो । उहाँले हरेक व्यक्ति सबै विषयमा दक्ष हुन नसक्ने भन्दै सम्बन्धित विषयमा पूर्ण रुपमा दक्ष बन्न आवश्यक रहेकाले सिकाएका कुरा इमान्दारिताका साथ सिक्न आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा सञ्चालित तालिम अन्तर्गत १० दिन सम्म दैनिक जीवन संँग जोडिने विषय र ४० दिन कार्यस्थलमा गई वाल लगाउने, सडक मर्मत कसरी गर्ने, सुरक्षा, उपकरणको प्रयोगलगायतका विषयमा सिकाईने छ ।