माघ २६, वालिङ ।
हरेक ठाउँको लोक परम्परा त्यो समाजको चिनारी हो । नेपाली समाजको लोक परम्परामा बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधता रहेको छ । हामीले आफ्नो मौलिक परम्पराको निरन्तरता, प्रयोग, प्रभावकारिता र औचित्यका बारेमा जानकार हुन आवश्यक छ । नेपालमा त्यस्ता धेरै मौलिक कला र संस्कृति छन् जसले सांस्कृतिक विविधताको देश भनेर विश्व परिचित गराएको छ । त्यसमध्ये लोकगीत पनि एक हो । लोकगीतमा सुख दुःख एवम् मनका वह पोखिएका हुन्छन् । योसँगै जीवनका भोगाईहरु तथा सामाजिक घटनाक्रम समेटिएका हुन्छन् । व्यक्ति एवम् सिङ्गो समाज बोलेको हुन्छ ।
त्यही लोकगीत दुईपक्षबीच सवाल जवाफकारुपमा गाउँदा दोहोरीगीतमा रुपान्तरित भएको हो । यसरी लयात्मक अथवा गीति लयमा सवाल जवाफमा उत्रिने क्षमता राख्नु गायक गायिकाहरुको कौशलतासँगै अर्को विशेषता हो ।
त्यसैले त नेपाली सांगीतिक क्षेत्रमा लोक दोहोरीगीतले विशिष्ट स्थान ओगटेको छ । नेपाली लोक दोहोरीगीत भनेपछि विदेशीहरुका लागि पनि आकर्षण बनेको छ । पूर्वजहरुले डो¥याउँदै ल्याएको अमूल्य सम्पत्ति हो—लोकगीत । जुन अहिलेको पुस्तासम्म स्थापित छ र पुस्ता हस्तान्तरण गर्दै निरन्तरता दिनु हामी सबैको दायित्व हो । किनकि मानव जीवनलाई गीत सङ्गीतले छुट्टै आनन्द र सुन्दर बनाएको हुन्छ । मानवमात्र नभएर सम्पूर्ण चराचर जगतलाईसमेत गीतसङ्गीतले आनन्द प्रदान गर्ने पौराणिक कथाहरुमा उल्लेख भएको र अनुसन्धानले पनि देखाएका कुरा पढ्न पाइन्छ । लोक सङ्गीत सर्वप्रिय छ र रहिरन्छ भन्ने यसको लोकप्रियताले पुष्टी गरेको छ ।
नेपाली समाजमा त्यस्ता सयौं लोक गुञ्जनहरु छन्, जसको आ—आफ्नै परम्परा र शैली छन् । त्यही शैली एवम् तौरतरिकामै आफ्नोपन झल्केको हुन्छ ।
मानिस ढुङ्गेयुगबाट विकसित हुँदै अहिलेको अवस्थामा आएको हो भन्ने हामी सबैको विश्वास छ । उतिबेलाको जीवन शैली, खानपान र चालचलनहरु कति वैज्ञानिक थिए र कतिपय सुधारेर जानुपर्ने पनि देखिए । खोज अनुसन्धान हुँदैजाँदा कतिपय रुपान्तरित भएका पनि छन् । जुन कुरा चेतना स्तरको विकाससँगै खोज अनुसन्धानले पत्ता लगाएका विषय हुन् ।
लोकगीत भन्नाले लोकले आफ्ना सुख दुःखका कथा व्यथा एवम भावना समेटेर गाइने लयात्मक अभिव्यक्ति नै हो । समय र परिस्थितिजन्य विषयवस्तु समेटेर गाउने गरिन्छ, जसले सामाजिक सचेतनामा टेवा पु¥याउन भूमिका खेलेको हुन्छ । र पौराणिक कथा एवम् पर्व विशेष गीति प्रस्तुतिहरु परम्परादेखि चल्दै आएको पाइन्छन् । जस्तैःसोरठी, कृष्ण चरित्र, बालन, ठुमरी, देउडा, काँठे, हाक्पारे, गन्धर्वगीत, लोक भजन, भजन चुड्का, सालैजो, ठाडोभाका, लामो भाका, झाम्रे, कौरा, खेली, बाह्रमासे, पर्वगीत, श्रम वा कर्मगीत एवम् ऋतुकालिनलगायत गीतहरुबाट बुझ्न सकिन्छ । यस्ता सयौंगीतहरु परम्परागतरुपमा गाईंदै र नाच्दै आएको इतिहास छ । योसँगै विविध खालका खानपान र चालचलन पनि थिए ।
पहिलाका प्रचलन धेरै कुरा राम्रा रहेपनि कतिपय वर्जित गर्नुपर्ने थिए ।
यसैबीच नेपाली मौलिकगीतको छायाङ्कनमा रक्सीको प्रयोग गरिदै आएका दृष्यहरु समेटिईरहेका छन् । परम्परागत खाना, रोटी एवम् अचारलगायतका बस्तु ठिकै होलान् तर रक्सी खाने र खुवाइने दृष्य कतिसम्म ठीक मान्ने ? यसमा सुधार ल्याउन आवश्यक छ कि छैन ?
रक्सी पिउनै नहुने नहुन सक्ला, किनकी यसको पनि दायरा होला, ठाउँ होला, समय र परिवेश हुनसक्ला तर परम्परा र मौलिकताका नाममा त्यस्ता दृष्यको निरन्तरता दिनु उचित हुन्छ त ? यसरी परम्परागत कुरालाई निरन्तरता दिदै जाने हो भने हामी र हाम्रो समाज कहाँ पुग्ला ?
गीतमा दुःख सुख, विरह वेदना र मायाँप्रेमका भावनाहरु वेशी समेटिन्छन् । तुलनात्मकरुपमा मायाँप्रेमका विषयले बढि नै ठाउँ पाएको हुन्छ । मायाँप्रेमलाई कतिसम्म बोल्दा र देखाउँदा सामाजिक मर्यादा कायम रहन्छ भन्ने हेक्का राख्नुपर्छ । केही गीतहरु त्यस्ता छन्, शव्दावली जे जस्ता भएपनि लयका कारण बालकदेखि वृद्धसम्म लोकप्रिय भैदिन्छन् ।
जस्तैः नेत्र अर्यालको शव्दमा खेम सेन्चुरी र दिपिका बयम्बु मगरले गाएको अर्थ बिहिन अपुरो गीत हो—अरुलाई धानको पात मायाँलाई पानको पात । पछिल्लो समयमा लोकप्रिय र दुई अर्थी शब्दको प्रयोग भएको नेत्र अर्यालकै शव्द लेखनमा शान्तारानी परियारले गाएको धत्तेरीका साहिंलीरिमै, आ मलाई पल्लारे साहिंलोले....म त ढले ढलें....। हरि गिरी विमर्शीको लेखनमा स्वयम् हरि गिरी र शान्तिश्री परियारको आवाज रहेको अत्यन्तै भल्गर लाग्ने खालका भिडियोहरुसहितको विस्तराले पोल्यो, ।
यस्तै नेत्र अर्यालकै शव्दमा अर्को गीत—खेम सेन्चुरी र एलिना चौहानले गाएको तिमीले धोका दियौ भने माँ कसम कट्टा हान्दिन्छु ।
जन्मदिने आमाको कसम जस्तो तल्लो स्तरको र अमर्यादित शव्द के हुनसक्छ ? यस्ता गीतले हाम्रो समाजलाई कतातिर लैजान्छ ? यस्ता शव्दावली प्रयोग गरिएका गीतहरु सार्वजनिक भएसँगै विवादमा आउने गरेका छन्, तर पनि लेखक र गायक गायिकाहरुमा सुधार आउन नसक्नु दुःखको कुरा हो । साथमा अहिलेका सस्ता खालका मिडिया र युटुबरहरुको नकारात्मक भूमिका पनि उत्तिकै छन् । यसैमाथि अत्यन्तै उत्शृङ्खल खालका स्टेज प्रस्तोताहरु छन, जसले नेपाली मोलिक गीतलाई अमर्यादित र विकृत बनाएको छ ।
यस्ता अमर्यादित, आपत्तीजनक शव्दावली र विकृतिलाई प्रश्रय दिने खालका दृष्यहरुलाई निरुत्साहित गर्नुपर्छ । पारिवारिक र सामाजिक मानमर्यादा कायम हुनुपर्छ, विकृत बनाइनु हुँदैन । गीत समाजमा रहेका विकृति र विसङ्गतिलाई उजागर गर्ने गतिलो माध्यम बन्छ, बनिरहेका पनि छन् । अतः मनोरञ्जनसँगै सामाजिक सचेतना र सुसंस्कृत समाज निर्माणमा गीतसँगीतले भूमिका खेल्न सक्नुपर्छ ।