Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङका बंगुर पालक किसानलाई स्थलगत तालिम

वालिङका बंगुर पालक किसानलाई स्थलगत तालिम

  • PNN Times
  • बिहिवार, फाल्गुण ८ २०८१


  • वालिङका बंगुर पालक किसानलाई स्थलगत तालिम

    वालिङ, ०८ फागुन
    स्याङ्जा वालिङका बङ्गुरपालक किसानहरुलाई जैविक सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ । 
    वालिङ नगरभित्र व्यवसायिक बङ्गुरपालन गर्दै आएका किसानलाई जैविक सुरक्षा सम्बन्धी आज विहिबार एक दिने स्थलगत तालिम दिइएको हो । 
    नगरभित्र रहेका क्रियाशील ३५  व्यवसायीक फर्म र ५ वटा समूहलाई संक्रामक रोगहरूबाट कसरी बचाउने भन्ने विषयमा तालिम आयोजना गरिएको भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । 
    पछिल्लो समय स्याङ्जाको केही बङ्गुर फर्ममा महामारीको रुपमा  अफ्रिकन स्वाइन फिवर रोग देखिएपछि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको डा. श्रेष्ठको भनाई छ । 
    जिल्लामा यही रोगको कारण झण्डै आधा दर्जन बङ्गुर मरेपछि यसको संक्रमण अन्यत्र हुन नदिन किसानलाई जैविक सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको हो । 
    जिल्लाका किसानहरुलाई खोरेँत , स्वाइन फिवर , अफ्रिकन स्वाइन फिवर , आन्तरिक परजीवि र बाह्य परजीवि जस्ता रोगहरूले हैरानी बेहोर्नुपरेको किसानको गुनासो छ । 
    हालसम्म अफ्रिकन स्वाइन फिवरको उपचार नभएको र प्रभावकारी खोप पनि विकसित नभईसकेको हुँदा रोकथाम नै उत्तम विकल्प रहेको वालिङ नगरपालिकाका पशु शाखा प्रमुख डा. रोशन बस्यालले बताउनुभयो । 
    बाहिरबाट असुरक्षित पाठापाठी र माउ ल्याउँदा यस्ता रोगहरु बङ्गुरले बोकेर आउने गरेको छन् । 
    संक्रमित बङ्गुरहरुमा कडा ज्वरो आउने , खाना नखाने , बान्ता हुने , पखाला लाग्ने , शरीरभरि रातो धब्बा देखिने जस्ता लक्षण देखिएपछि नगरपालिकाको पशु शाखा वा भेटेरिनरी अस्पतालमा तत्काल खवर गर्न पशु चिकित्सकले अनुरोध  गरेका छन् । 
    संक्रामक रोगले बङ्गुरको उच्च मृत्यू दर रोकथाम गर्न जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिका स्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।K.jpg 
    वालिङ नगरलाई बङ्गुरको मासु तथा पाठा पाठीमा आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । नगर प्रमुख खाँणले भन्नुभयो,“बाहिर बाट रोग बोकेर आउने  बङ्गुर रोकथाम गर्दै यहीँको बंगुरलाई प्राथमिकतामा राख्ने नीति बनाउँदैछौँ । यसको लागि बङ्गुरपालक किसान उत्साहित भएर संख्या वृद्धि गर्नुहोस् , बाहिरको आयात नियन्त्रण हुन्छ ।”
    वालिङ नगरभित्र बङ्गुरपालनमा क्रियाशील किसानलाई व्यवसाय वृद्धि गर्न बीउ पूँजीको रुपमा आर्थिक सहयोग गर्न नगर तत्पर रहेको नगर उपप्रमुख कविता गैह्रेले जानकारी दिनुभयो । 

    बिहिवार, फाल्गुण ८ २०८१०६:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend