Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा सामूहिक आलु खेती गर्दै महिलाहरु

वालिङमा सामूहिक आलु खेती गर्दै महिलाहरु

  • PNN Times
  • सोमवार, मंसिर ८ २०७७


  • वालिङमा सामूहिक आलु खेती गर्दै महिलाहरु

    तोलाकान्त बगाले 

     मङ्सिर ८,वालिङ । यहाँका दलित महिलाहरुले सामूहिकरुपमा आलु खेतीको सुरुआत गरेका छन् । स्याङ्जाको वालिङ ९ का दलित महिलाहरुले सामूहिकरुपमा वालिङ १० बामलेटारमा आलु खेती थालेका हुन् ।

    वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलु खेती गरिएको हो ।

    ४० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताउनुभयो ।

    “नगरपालिकाले आलुको बीउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निशुल्क उपलब्ध गराएको छ” अध्यक्ष विश्वकर्माले भन्नुभयो, “समूहमार्फत हामीले श्रममात्रै गरे पुग्छ ।”

     

    images

    women_all.jpg

    महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमान्कै मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आँफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मुख्य उद्देश्यले समूहमार्फत ब्यवसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

    waling-10.jpg

    कोभिड १९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्नका लागि सामूहिक आलुखेती थालेको संस्थाका कोषाध्यक्ष सुविना विकले बताउनुभयो ।

    उत्पादन भएको आलु समूहले आँफै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार ब्यवस्थापना गरिदिने कोषाध्यक्ष विकले बताउनुभयो । वचत भएको रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि प्रयोग गर्नेछन् । समूहले पाँच रोपनी क्षेत्रफलमा ‘जनकदेव’ जातको आठ क्वीन्टल बीउ लगाउने भएको हो ।

    आलु प्राविधिकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा नगरपालिकाका तीन वटा क्षेत्रमा सामूहिक आलु खेती गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो ।

    “समूहमार्फत काम गर्दा एकापसमा सीपको आदान प्रदानका साथै सहजता हुने भएकाले समूहमार्फत गरिने खेती प्रणालीलाई जोड दिएका हौं” अध्यक्ष तिवारीले भन्नुभयो, “सामूहिक खेतीले आम्दानीमा बृद्धि र सामूहिक भावनाको विकासमा सहयोग पुग्ने ठानेका छौं ।”

    यसका अलावा परियोजना अन्तर्गत वालिङ १४ को पनियारेमा १५ रोपनीमा १० क्वीन्टल र वालिङ ६ मा १० रोपनीमा ८ क्वीन्टल आलु लगाईने भएको हो । नगरपालिकाले समूहमार्फत गरिने खेती प्रणालीलाई प्राथमिकता दिंदै उत्पादकत्व बृद्धिमा जोड दिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    “परम्परागत कृषि प्रणालीबाट माथि उठेर आधुनिक कृषि प्रणालीलाई अंगिकार गर्दै अगाडि बढ्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “उत्पादित कृषि तथा पशुजन्य बस्तुहरुको ब्यवसायीकरण, आवश्यक यन्त्र उपकरण, औजारहरुका साथै बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने छ ।”

    स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङका १४ वटै वडामा उत्पादन बढाउने गरी अभियान सुरु गरिएको नगर प्रमुख खाँणले बताउनुभयो । “हाम्रो ध्यान भनेकै यस ठाउँको वातावरण र माटो सुहाउँदो उत्पादनमा जोड हो” नगर प्रमुख खाँणको भनाई थियो ।

     

    सोमवार, मंसिर ८ २०७७१०:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend