फागुन १३, पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले एकिकृत घुम्ती शिविरलाई निरन्तरता दिएको छ । ९ नम्वर वडामा सम्पन्न गरिसकेको. नगरपालिकाले हिजो १ नम्वर वडामा एकीकृत घुम्ती शिविर गरेको हो ।
जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालयबाट प्रदान गरिने सेवा संँगै स्वास्थ्य जाँच सहितको सेवा शिविर मार्फत प्रदान गरिएको हो । वडा नं. १ को कार्यालय परिसरमा शिविर सञ्चालन गरी भूगोलका हिसावले टाढा रहेका नागरिकलाई सेवा प्रवाह गरेको हो । शिविरमा हिउँदे अधिवेशन बाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा प्रदान गरिएको छ । यसैगरी आँखा, कान, घाँटी तथा दन्त परीक्षणसहित अन्य स्वस्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो ।
जेष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरी नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले जनतालाई स्थानीय सरकार जनताको सेवाको लागि साथमा छ भन्ने आभास दिलाउन नगरपालिका कार्यालय देखि दुरीका हिसावले पर रहेका नागरिकको लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले घुम्ती शिविरलाई आगामी दिनमा थप परिस्कृत गर्दै लैजाने जानकारी गराउनुभयो । नगरपालिका कार्यालयको सेवामा आम नागरिकको पहुँच वृद्धि गर्न शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले यस अघि वडा नं. ९ मा पनि शिविर सञ्चालन गरिएको र वडा नं. १ पश्चात अब वडा नं. १० मा पनि शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीले सहज रुपमा सेवा लिन पाउने नागरिकको अधिकारलाई प्रत्याभूति दिलाउन शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो ।
शिविर वडा नं. १ र २ का ३ सय ९० जनाले विभिन्न सेवा लिएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा २ सेवा २३ जनाले प्राप्त गरेका छन् । जसमा मधुमेह, एचआईभी र उच्च रक्तचाप जाँच गरिएको थियो । त्यस्तै आँखा तथा कान जाँच १ सय ७६ जना, दन्त परीक्षण १ सय ४९ जना, सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक ५० जना, बेरोजगार व्यक्ति सूचिकरण सेवा १७ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र २६ जना, योजना सम्झौता ७ जना, बैंक खाता खोल्ने ११ जना, पशु सेवा १ सय ९८ र कृषि सेवा १ सय ५२ जनाले सेवा लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । 