वालिङ १४, फागुन ।
स्याङ्जाको गल्याङमा पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका ३ का २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर–११ खरिपानीस्थित सिद्दार्थ राजमार्गमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको लु. ३ च. ३३२४ नम्बरको पिक अप भ्यान सडक देखि अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको थियो । भ्यानमा ४ जना सवार रहेकोमा दुई जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक हरिप्रसाद पौडेलका अनुसार राती अन्दाजी १ बजेर १० मिनेटको समयमा दुर्घछना भएको थियो । घाईते भई उपचारको क्रममा रहेका अर्याललाई गल्याङ अस्पतालले राति २ बजेर ५० मिनेटमा मृत घोषणा गरेको थियो । भ्यानका सहचालक राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भईरहेको छ ।