वालिङ १९ फाल्गुन ।
स्याङ्जाको वालिङमा यही फागुन २१ गते बुधबारदेखि प्रथम पिङ्क सिटि महोत्सव वालिङ – २०८१ सञ्चालन हुँदैछ । विगतदेखि नै वालिङमा सञ्चालन हुने मेला महोत्सवहरु गण्डकी प्रदेशकै विशेष रहँदै आएको छ । यस पटक चेम्बर अफ कमर्शद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सव वालिङ—२०८१ जेष्ठ नागरिक, एकल महिला एवम् अपाङ्गता मैत्री हुने भएको छ ।
कमर्सले महोत्सवमा प्रवेश टिकट निःशुल्क व्यवस्थासहित जेष्ठ नागरिक, एकल महिला एवम् अपाङ्गता भएकाहरुलाई मैत्री गराउने भएको हो ।
महोत्सवमा सबै वर्गका दर्शकहरुको उल्लासमय सहभागिता होस भन्ने हेतुले राज्यले सामाजिक सुरक्षा सुविधाको दायरामा ल्याइएकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ५ वर्ष मुनिका बालबालिकालाई पनि टीकट काट्नु पदैन । यसैगरी विद्यार्थीहरुका लागि रु. १ सयको टीकटमा ३० प्रतिशत छुट दिइने चेम्बरका वरिष्ठ उपाध्यक्ष मणिप्रसाद पंगेनीले जानकारी गराउनुभयो । महोत्सवमा साना बालबालिकादेखि युवा तथा बृद्धबृद्धामैत्रि बन्ने भएकाले पिङक सिटी महोत्सवमा दर्शकहरुको उल्लेखनीय सहभागिता रहने बरिष्ठ उपाध्यक्ष पंगेनीको विश्वास छ ।
वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवम् संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
यस अगाडि भएका महोत्सव भन्दा फरकपनको अनुभूति दर्शकहरुले गर्न पाउने चेम्बरका महासचिव गणेश राउतको भनाई छ । महोत्सवले पिंक सिटिको प्रवद्र्धन गर्दै वालिङका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी गरिनेछ ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिका भलिवल, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, प्रचारात्मक टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमलगायत विभिन्न संघ संस्था एवं कार्यालयका क्रियाकलापसहितका गतिविधिहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसहित राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछन् । महोत्सवमा २ सय ५० स्टल रहने महोत्सवमा पाँच करोड रुपियाँको कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान अयोजकले गरेको छ ।