पैयूँ, २४ फागुन – “सबै महिला तथा बालबालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नाराका साथ पैयूँ गाउँपालिकाले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम तथा खुला लोकगीत तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह संयोजक तथा पैयूँ गाउँपालिकाका उपाध्यक्ष श्रीमती याम कुमारी रानाले गर्नुभएको थियो। कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष श्री तोरण मल्ल ठकुरी, गाउँपालिकाका पूर्व अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालय हुवासका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय आमा समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

खुला लोकगीत तथा नृत्य प्रतियोगितामा समाज कल्याण महिला समूह, पैयूँ-३ ले प्रथम स्थान हासिल गर्दै रु. २० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्यो। मिलन महिला समूह, पैयूँ-४ दोस्रो स्थानमा रहँदै रु. १५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो। जनसेवा आमा समूह, पैयूँ-३ ले तृतीय स्थान हासिल गर्दै रु. १० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्यो भने संवेदनशील महिला समूह, पैयूँ-४ ले रु. ५ हजार नगद तथा प्रमाणपत्र सहित सान्त्वना स्थान प्राप्त गर्यो।

सांस्कृतिक कार्यक्रमको क्रममा राष्ट्रिय कलाकार कृष्ण अखेलीको विशेष प्रस्तुति ले कार्यक्रममा थप रौनक थप्यो। उनका चर्चित गीतहरूमा उपस्थित दर्शकहरू मज्जाले नाचेका थिए, जसले महिला दिवसको उल्लासलाई झनै बढाएको थियो।

पैयूँ गाउँपालिकाले कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण सहभागीहरू, महिला समूहका पदाधिकारीहरू, आयोजक तथा सहयात्रीहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ।
