चैत २५, वालिङ ।
प्रशिद्ध गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रमा भक्तजनहरुको आवागमन बढ्दै आएको छ ।
जिल्लाकै प्रशिद्ध गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्र स्याङ्जाको वालिङ नगरपालिका ८ स्थित छिमेकी पालिका गल्याङ नगरपालिकाको सिमासँग जोडिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ बजारदेखि १० किलोमिटरको दुरीमा गह्रौंसुर रहेको छ । जीप कारकासाथै ठूलो बस पनि आउन सक्ने सडकको सुविधा छ । जसका कारण धेरै टाढा देखि पनि दर्शनार्थी तथा पर्यटकहरु आउने क्रममा वृद्धि हुँदै आएको छ । पहिला पहिला बडा दशैं र चैते दशैंको नवदुर्गाका बेला मात्र भीड लाग्ने गह्रौंसुर कालिका मन्दिरमा पछिल्लो समयमा आएर दैनिकजसो नै दर्शनार्थी एवम् पर्यटकहरुको उपस्थिति हुने गरेको छ । योसँगै स्मार्ट नगरको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाकै आकर्षक गन्तव्य बनेको छ ।
बडा दशैं र चैते दशैंको नवदुर्गाका समयमा विशेष पूजा आजासहित भीड लाग्ने परापूर्वकालदेखिकै रीति हो । यस पटकको चैते दशैंको नवदुर्गामा विगतका वर्षभन्दा अझ बढि दर्शनार्थी एवम् भक्तजनहरुको उपस्थिति रह्यो । पछिल्लो समयमा गरिएको नयाँ संरचनासहितको विकास र यातायातको सुविधाले पनि भक्तजनहरुलाई निकै सहज बनाएको छ । यसकासाथै गह्रौंसुरमा दर्शनार्थी एवम् भक्तजनहरुको उपस्थिति बाक्लिदै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बडादशैं र चैते दशैमा पहिला पहिलाको तुलनामा गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थी एवम् भक्तजनहरु आउने क्रम बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी गराउनुभयो । नवदुर्गा बाहेक पनि दिनानुदिन दर्शनार्थीहरु आउने गरेका अध्यक्ष खाँणको भनाई छ । उहाँले भन्नुभयो, “खासगरी यातायातको सुगमतासँगै मन्दिर तथा मन्दिर परिसरको नयाँ व्यवस्थापनले भक्तजनहरुलाई आकर्षित गराएको छ । गह्रौंसुरको धार्मिक एवम् ऐतिहासिक महत्वका बारेमा हुँदै आएको प्रचार प्रसारले गर्दा पनि विगतका दिनमा भन्दा आवागमन वृद्धि ल्याएको छ ।”
परापूर्वकाल देखि दशैंको नवदुर्गामा बली पूजा तथा दर्शन गर्ने चलन हो । यसकासाथै दशैंका बेला बाहेक पनि तीथि मिलाएर पूजा एवम् दर्शन गर्न सकिन्छ । धेरै समय पालो कुर्नु नपर्ने र अव्यवस्थित घुईचो पनि खेप्नु पर्दैन । नयाँ व्यवस्थापनसँगै स्वयम् सेवकहरुद्वारा भक्तजन तथा दर्शनार्थीहरुका लागि लाइनमा राख्ने र पालैपालो दर्शन गर्ने गराउने व्यवस्था गरिएको छ । सयौंको सँख्यामा आउनेहरुलाई पनि सहजरुपमा दर्शन गर्ने व्यवस्था छ । यसका लागि सुरक्षाकर्मीहरुबाट पनि सुव्यस्थित गराउने काममा सहयोग हुने गरेको अध्यक्ष खाँणले उल्लेख गर्नुभयो । पछिल्लो एकवर्ष यता शनिबार तथा विदाका दिनहरुमा दर्शनार्थीहरु आउने क्रम बढेको छ भने अरु दिन पनि आफ्नो अनुकुल हुनेहरु आउने गर्दछन् । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वसँगै नयाँ व्यवस्थापन एवम् मनोरम वातावरण र मनमोहक दृष्यावलोकन यहाँको मुख्य आकर्षण हो ।
नयाँ संरचना निर्माणसँगै यहाँ आवासका लागिसमेत सुविधा सम्पन्न धर्मशालाको व्यवस्था छ । कतिपय संघ संस्थाहरुले वैठक तथा साधारणसभाहरु गर्न तथा वनभोजका लागि पनि यहाँ आउने गर्दछन् । यसकासाथै गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्र वालिङ नगरीकै आकर्षक गन्तव्यकारुपमा स्थापित भएको छ ।
यहाँ आएर वा जो जहाँ छौं त्यहीबाट पनि गह्रौंसुर कालिकाको भाकल गर्न सकिन्छ । त्यसैले धेरै टाढा टाढादेखि पूजा एवम् दर्शन गर्न आउने गर्दछन् । भाकल अनुसार आ—आफ्नो मनोकांक्षां पूरा हुने भएकाले यहाँ आउनेहरु सबै खुसी र सन्तुष्ट भएर जाने गरेको पाइन्छ । त्यसैले सम्पूर्ण महानुभावहरुले गह्रौंसुर कालिकाको दर्शन एवम् पूजा आजा गरेर जीवन आनन्दमय बनाउन सक्नुहुनेछ । हामी सबै भाग्शाली छौं, यो पूण्यभूमिमा सबैलाई स्वागत छ, अध्यक्ष खाँणले भन्नुभयो ।
केही वर्ष पहिला आउनेहरुले अहिलेको व्यवस्थापन, सुविधा र विकासलाई देखेर निकै खुसी र हर्षित हुने गरेको हामीले पाएका छौं, अध्यक्ष खाँणले भन्नुभयो पछिल्लो विकास र सुविधा सम्पन्न संरचनाले एक पटक आएकाहरु पटक पटक आउने गरेको हामीले देखेका छौं । त्यसैले यहाँको महत्व अझ बढ्दै गएको महसुस गराएको छ ।
कुनै पनि ठाउँको विकासमा स्थानीय सरकारको भूमिका र दायित्व रहन्छ । गह्रौंसुर वालिङ नगरीकै धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थल हो । गह्रौंसुरको विकास निर्माणमा नगरपालिकाले विगतका दिनदेखि नै चासो र प्राथमिकता दिदै आएको छ ।
गह्रौंसुरको सन्दर्भमा यसको ऐतिहासिक महत्व र महिमालाई उजागर गर्दै लैजान आँफूहरु सधैं लागिपर्ने वालिङ नगर प्रमुख कृष्ण खाँणको भनाई छ । धार्मिक एवम् सामाजिक व्यक्तित्वहरुको साथ र सहयोगसँगै गह्रौंसुरले नयाँपन पाएको छ । नगरपालिका सधैं अभिभावकीय भूमिकामा रही गह्रौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रलाई थप विकास गर्दैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो । नगर प्रमुख खाँणले भन्नुभयो, “धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको गह्रौंसुर पर्यटन प्रवद्र्धनका लागि वालिङ नगरकै मुख्य आकर्षक केन्द्र हो । पछिल्लो समयमा गह्रौैंसुरमा बढेको आवागमन र चर्चाले यसको पुष्टी गराएको छ, यो खुसीको कुरा हो । पर्यटन प्रवद्र्धनले आर्थिक तथा सामाजिक विकासमा ठूलो महत्व राख्दछ । नगरपालिकाले प्राथमिकताकासाथ लिएको छ ।”
गह्रौंसुरको विकासमा छिमेकी पालिका गल्याङ र चापाकोट नगरपालिका एवम् सम्वद्ध व्यक्तिहरुको पनि महत्वपूर्ण योगदान रहेको उहाँले व्यक्त गर्नुभयो ।