चैत २५, वालिङ ।
स्याङ्जाको वालिङमा मगर चलचित्र दिलसरा को प्रदर्शन गरिने भएको छ । मगर समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक जस्ता बुहआयामिक पक्षलाई समेटेर निर्माण गरिएको चलचित्र दिलसरा भोलि मङ्गलबार वालिङमा प्रर्दशन गरिने भएको हो । नेपाल मगर संघ वालिङ र मगर महिला संघ वालिङको आयोजनामा वालिङ स्थित सिटि हलमा दिलसरा चलचित्र प्रदर्शन गरिने छ ।
विषेशगरी नारीप्रधान चलचित्रको रुपमा हेरिएको दिलसरा चलचित्र देशविदेशमा पनि प्रदर्शन भैसकेको छ । यसअघि स्याङजा सदरमुकाममासमेत प्रदर्शन गरिएको थियो भने वालिङपछि गल्याङ र चापाकोटमा पनि प्रदर्शनीको मिति तय गरिएको छ । मेनेको फिल्म्स एण्ड मिडिया हाउसको व्यानरमा निर्मित चलचित्र दिलसराको निर्देशन अशोक आलेमगरले गर्नुभएको हो । चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा रहेका छन् ।
जुना थापा मगरको कथा तथा मिना थापा मगरको पटकथा लेखन रहेको चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), गुना थापा मगर, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।