चैत २८, वालिङ ।
यही चैतको २९ र ३० गते कौण्डिन्य गोत्रीय पाठक समाज नेपालले छैटौं केन्द्रीय अधिवेशन तथा सम्मेलन गर्ने भएको छ । काठमाडौंको टोखा नगरपालिकास्थित हरिहर आश्रममा सञ्चालन हुने दुई दिने कार्यक्रममा विभिन्न कार्यपत्र सहित पदाधिकारीका प्रतिवेदनमाथि छलफल हुने समाजका केन्द्रीय अध्यक्ष टीकाराम पाठकले जानकारी दिनुभयो ।
अधिवेशनलाई भव्यरूपमा सञ्चालन गर्नका लागि सबैतिर पत्राचार र सूचनाको काम भैरहेको समाजका महासचिव प्रा.डा. गणेशप्रसाद पाठकले जानकारी गराउनुभयो ।
यसैबीच, अधिवेशन तथा सम्मेलनमा सहभागी हुनका लागि विदेशमा रहेकाहरूलेसमेत इच्छा गरेका हुँदा यसपटकको महाधिवेशन ऐतिहासिक बन्ने समाजका केन्द्रीय सचिव केशव पाठकको भनाई छ ।
३० वर्षअघि स्थापित यो समाजले कौण्डिन्य गोत्रीय पाठकको वंशावली तयार गरी सो को प्रकाशन तथा वंशावलीको वेवसाइटमा राख्ने काम, सगोत्री भित्र विवाह नगर्ने, देशभरका पाठकहरूले एकैपटक एउटै तीथिमा हिंसारहित कूल पूजा गर्ने, सहयोगको आवश्यकता परेका बन्धुहरूलाई आर्थिक उद्दार गर्ने, समाजका सदस्यको मृत्यु भएको दशौं दिनमा प्रति परिवार एकसय रूपियाँ सहित उपस्थित हुने, मृत्यु संस्कारमा एकरूपता अपनाउने लगायतका कार्य गर्दै आएको सचिव पाठकले जानकारी दिनुभयो ।
हालसम्म करीब पाँच करोडको भौतिक पूर्वाधार निर्माण गरी सार्वजनिक उपयोगमा ल्याएको समेत समाजले उल्लेख गरेको छ ।
समाजका सदस्यहरूको बसोबासका आधारमा ९ वटा क्षेत्रहरू निर्माण गरी क्षेत्रीय कार्य सञ्चालन गर्दै आएको र सदस्यहरूको थप विकासका लागि युवा र महिलाहरुको समिति बनाई काम गर्दै आएकोसमेत समाजले जनाएको छ ।
यसैगरी ८४ पुजा गरेका वुवाआमा, नेपाल सरकारका अधिकृत स्तर वा सो भन्दा माथि, प्राविधिक विषयमा स्नातकोत्तर एवम् पि एच डी गरेका, राष्ट्रिय स्तरका कलाकार, खेलाडी, उत्कृष्ट कृषक तथा व्यावसायी, जन प्रतिनिधी, लेखक, सञ्चार कर्मीलगायतलाई समाजले सम्मान गर्दै आएको छ ।