वैशाख ३, पाल्पा ।
पाल्पाको रामपुरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
रामपुरको ९ नम्वर मा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना सम्बन्धी एकदिने कार्यक्रम गरिएको हो । नेपाल सरकारद्वारा व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम अन्तर्गत एकदिने सचेतना कार्यक्रम बुधवार भएको हो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले राज्यको नीति तथा विभिन्न कार्यक्रम तय गर्नका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यक्तिलाई राज्यले दिने सेवा सुविधा र नागरिकका लागि तय गर्ने विभिन्न कार्यक्रम निर्माण गर्न सहज हुने उल्लेख गर्नुभयो । व्यक्तिगत घटना दर्ता अनिवार्य गर्नुपर्ने भन्दै उहाँले कानुनी प्रावधान अनुसार समयमै गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले सानो लापरवाही र अभिभावकको वेवास्ताले बालबालिकाको भविष्यमा समेत असर पुग्न सक्ने भएकाले घटना दर्ता गर्दा सचेत हुनुपर्ने बताउनुभयो ।
यसैगरी वडा नं.९ का अध्यक्ष डिलबहादुर रानाले व्यक्तिगत घटना दर्ता समयमै गर्नुपर्ने र यसले वडाले सञ्चालन गर्ने वार्षिक कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो । साथै व्यक्तिगत घटना दर्ता सप्ताहले घटना दर्ताका लागि सहज रुपमा कार्यान्वयन गर्न सजिलो हुने अध्यक्ष रानाको भनाई छ ।
कार्यक्रममा ९ नं. वडा का विभिन्न टोल विकास संस्था, विद्यालयका शिक्षक, स्वयमसेविकालगायतको सहभागिता रहेको थियो । नेपाल सरकारले हरेक वर्ष बैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम गर्दै आएको छ ।