वैशाख ३, वालिङ ।
स्याङ्जाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले औपचारिकतामा धेरै समय खर्च गर्न नहुँने बताउनुभएको छ । आज बुधबार वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले अतिथि स्थान ग्रहण र भाषणमा समय धेरै खर्च भईरहेको उल्लेख गर्दै औपचारिकतालाई छोट्याउने परिपाटीको विकास गर्नपर्नेमा जोड दिनुभयो । साथै प्रजिअ अर्यालले निजी क्षेत्र भनेको राज्यको महत्वपूर्ण अङ्ग भएको व्यक्त गर्नुभयो । हरेक व्यक्ति तथा संस्थाले आफ्नो व्यक्तिगत लगानीमा राज्यलाई कर तिर्दै र आफ्नो आर्थिक स्थिति पनि बलियो बनाउँदै धेरैलाई रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्रप्रति आफू सकारात्मक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले आफू स्याङ्जामा आएको पनि २० महिना पुगिसकेको उल्लेख गर्दै जिल्लाका हरेक स्थानीय तह, संघसंस्था र व्यसायीहरुसंँगै रहेको बताउनुभयो । चोरी घटनाको दोषीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रियामा अगाडि बढेको र प्रशासनका सेवा प्रवाहलाई चुस्त बनाउँदै समाजको सुशासन कायम राख्न प्रशासन प्रतिवद्ध रहेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले ब्यवसायिक क्षेत्रमा रहेका विविध समस्याहरुको विषयमा जानकारी गराउँदैै ब्यवसायीलाई तर्साउने भन्दा पनि नियमित रुपमा सबै क्षेत्रहरुको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । साथै अध्यक्ष श्रेष्ठले बजार क्षेत्रमा घुम्ती ब्यापारीहरु स्थानीय व्यवसायीहरुकाे समस्याको रुपमा देखिएकोले यसको निषेध वा उचित ब्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक कदम चाल्नुपर्ने धारणा राख्नुभयाे । 