जेठ १३, पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुलाई २ दिने अनुशिक्षण प्रदान गरेको छ । नगरपालिकाले लक्षित वर्ग तथा टोल विकास संस्थाका महिलाहरुलाई लैङ्गिक समानता सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट छनौट प्रक्रिया तथा सबै प्रकारका दुव्र्यवहार सम्बन्धी २ दिने अनुशिक्षण प्रदान गरेको हो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमुखी बजेट निर्माणगरी नगरपालिकाले कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले योजना सङ्कलनगरी बजेट निर्माण गर्दा लैससासलाई समेटेर तयार गरिएको बताउनुभयो । योजना सङ्कलन र बजेट निर्माणमा सहज होस भन्ने उद्देश्यले टोल विकास संस्थाका पदाधिकारीहरुलाई यो कार्यक्रम आयोजना गरेको नगर उपप्रमुख थापाले जानकारी दिनुभयो । साथै उहाँले टोल टोलमा योजना सङ्कलन गर्दा लैससासलाई समेटेर छनौट गर्न आग्रह गर्दै लैङ्गिक उत्तरदायी बजेट निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर प्रवक्ता एवम् वडा नं.१ का अध्यक्ष कपिलबहादुर खाँणले समाजका सबै क्षेत्र र समुदाय समेटिने गरी योजना तथा बजेट निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जनताको आवश्यकतासँगै लैससासको सूचक पूरा हुनेगरी कानुनले निर्दिष्ट अधिकार क्षेत्र भित्र रही योजना तय गर्नुपर्नेमा जोड दिनुभयो ।
रामपुर नगरपालिकाका १० वटै वडाभित्र रहेका टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको अनुशिक्षण कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण,लैङ्गिक उत्तरदायी बजेट निर्माण,योजना छनौट प्रक्रिया,संस्था दर्ता तथा नियमन प्रक्रिया,विभिन्न दुव्र्यवहार लगायतका विषयमा सहजिकरण गरिएको थियो ।