जेठ २२, स्याङ्जा ।
पर्वतको पैयूँ गाउँपालिकाले हिजो बुधबार र्सााजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को हालसम्मको प्रगति समीक्षासहित सार्वजनिक सुनुवाई गरेको हो । गाउँपालिकाले वडा नम्वर ४ को हातेमालो चोकमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
कार्यक्रममा गाउँपालिकामा आर्थिक वर्ष २०८१÷०८२ को हालसम्मको प्रगति समीक्षा गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रमको लागि सुझाव सङ्कलनसमेत गरिएको छ ।
कार्यक्रमको शुभारम्भसँगै प्रमुख प्रशासकीय अधिकृत जीवन गैह्रेले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । यसकासाथै उहाँले गाउँपालिकाको संक्षिप्त प्रगति विवरणकोसमेत जानकारी गराउनुभएको थियो । यसैगरी कार्यक्रममा विषयगत कार्यालय प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कृषिको क्षेत्रमा पालिकाका समक्ष कृषि क्षेत्रको विषयलाई चासोकासाथ राखेका राखेका छन् । दुग्ध सहकारी कहाँ गयो ? शीत भण्डारको कुरा के भयो ? किसानलाई व्यवसायिक उत्साहका लागि बाली बीमाको सुविधा हुनुप¥योलगायतका प्रश्न एवम् सुझाव राखेका छन् । यसैगरी भाषा कला र संस्कृति संरक्षणमा पनि पालिकाले ध्यान दिन आवश्यक रहेको सुझाएका छन् । जति हुनुपर्ने थियो, त्यति काम भएको देखिदैन । देखिने र जनतालाई अनुभूति हुनेगरी काम गर्न र विकासका नाममा आफूमुखी होइन जनमुखी हुनुप¥यो । मागको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विकासका कामलाई प्राथमिकता दिन सहभागीहरुको सुझाव छ । सार्वजनिक सुनुवाई विभिन्न वडाहरुमा राख्नुपर्ने, विद्यालय कृषि कार्यक्रम लागू गर्न पालिकाले ध्यान दिन आवश्यक छ, जबकि बालबालिकाहरुले कृषि के हो भन्ने बुझ्न सकून । खानेपानीको व्यवस्थापन राम्रोसँग हुन सकेन, स्वास्थ्य संस्थामा औषधीको सहज उपलव्धतामा पालिकाको दृष्टि पुग्नुपर्नेलगायत सहभागीहरुले सुझाएका छन् ।
सहभागीहरुको जिज्ञासाको जवाफमा प्रमुख प्रशासकीय अधिकृत गैह्रेले २०५५÷ ६० सम्म जिल्ला सदरमुकाम कुश्मादेखि र वालिङदेखि हातेमालो चोक आउने जाने गर्दा कस्तो अवस्था थियो, शिक्षा र स्वास्थ्यको क्षेत्रको विकासका सन्दर्भमा के कस्तो थियो भन्ने अध्ययन गर्न आग्रह गर्नुभयो । अरु के कस्तो खालको परिवर्तन खोज्नु भएको हो ? भनी प्रतिपश्न राख्नुभयो । योसँगै उहाँले सहभागीहरुबाट आएका जिज्ञासा एवम् गुनासाहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा वडागतरुपमा आएका जिज्ञासालाई सम्बन्धित वाडा अध्यक्षहरुले जवाफ दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले सार्वजनिक सुनुवाई कार्यक्रम सहभागी भएर विकास निर्माणका सन्दर्भमा गाउँबासीहरुले चासोकासाथ जिज्ञासा र सुझावहरु राखेकामा धन्यवादसहित खुसी व्यक्त गर्नुभयो । उहाँले गएको वर्षमा जस्तै आगामी वर्ष पनि गाउँबासीहरुको सुझाव र सल्लाहका आधारमा बजेट विनियोजन गरेर आफ्नो क्षमता अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिकहरुले महसुस हुनेगरी काम गर्दै आएको विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष तोरणबहादुर मल्लले सम्वोधन गर्दै सार्वजनिक सुनुवाई गर्नु भनेको सुशासन, पारदर्शिता र नागरिक मैत्री हुनु रहेको बताउनुभयो । जुन कार्यक्रमबाट नागारिकहरुका जिज्ञासा र सुझाव अनुसार विकास निर्माणका कार्य अगाडि बढाउन बल पुग्ने अध्यक्ष मल्लले व्यक्त गर्नुभयो । हाम्रो क्षमता अनुसार काम गर्न दत्तचित्त रहेको उल्लेख गर्दै उहाँले विद्युत व्यवस्थापनको समस्या समाधानमा लागिरहेको र केही प्राविधिक कारणले सोंचेजस्तो हुन नसकेको औंल्याउनुभयो । हाल उपयोग गर्दै आएको सामुदायिक विद्युतबाट नेपाल विद्युत प्राधिकरणमा जाने धेरैको मनसाय अनुसार अगाडि बढ्ने तयारीमा लागेको अध्यक्ष मल्लले बताउनुभयो । यसैगरी खानेपानी समस्या समाधानका लागि पनि जतिसक्दो छिटो प्रोसेसमा जाने तयारीमा रहेको विश्वास दिलाउन चाहन्छु, अध्यक्ष मल्लले भन्नुभयो । पीच बाटो तथा कच्ची सडकका सन्दर्भमा पनि ध्यानाकर्षण भएको उहाँले व्यक्त गर्नुभयो । गाउँबासीले उठाएका विषयहरु अत्यन्त सान्दर्भिक रहेको र सम्वोधनका लागि लागिपर्ने उहाँको भनाई थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पावर न्यूज नेटवर्क प्रा. लि.ले गरेको थियो ।
