असार ३, वालिङ ।
स्याङ्जाको वालिङमा गत वैशाखमा गरिएको महायज्ञ आयव्यय सार्वजनिक गरिएको छ । गत वैशाख १७ देखि २३ गतेसम्म वालिङ खेलमैदानमा गरिएको श्रीमद्भागवत् सप्ताह तण्डुलाचल, श्रृङ्गारिक आरति महायज्ञ धार्मिक अनुष्ठान—२०८२ को हिजो सोमबार पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गरिएको हो ।
म्हायज्ञबाट एक करोड ४१ लाख बढी दान रकम सङ्कलन भएको केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले सार्वजनिक गरेको छ ।
महायज्ञ मूल समारोह समितिद्वारा रु. एक करोड ४१ लाख ४६ हजार ९८ सङ्कलन भएको जानकारी गराइएको छ ।
महायज्ञमा विभिन्न व्यक्ति तथा संस्थागत दान चन्दाबाट एक करोड ३७ लाख २५ हजार ६ सय ६३, दान पेटिकाबाट २ लाख २८ हजार ३ सय ७५ र चामल बिक्रीबाट १ लाख ९२ हजार ६० रुपैयाँ गरी कूल एक करोड ४१ लाख ४६ हजार ९८ रुपैयाँ संकलन भएको दिईएको हो ।
महायज्ञमा सङ्कलित रकम मध्येबाट रु. २२ लाख ३६ हजार १ सय ५४ खर्च भएको हो । यसैगरी महायज्ञबाट सङ्कलन भएको रकमबाट केदारनाथ मन्दिरसँगै जोडिएको स्थानमा रु. ६२ लाख ४० हजारको लागतमा ८ आना जग्गा खरिद गरिएको छ । हाल ५ लाख ५१ हजार ६ सय ६० रुपैयाँ गरिमा विकास बैंकमा मौज्दात रहेको छ भने ११ लाख ५८ हजार ५ सय २ चेक सटही गर्न र अन्य लिन बाँकी वालिङ नगरपालिकाको रु. २५ लाखसहित रु. ३९ लाख ५९ हजार ७ सय ८२ रहेको छ ।
पत्रकार सम्मेलनमा महायज्ञ मूल समारोह समितिका संयोजक तथा पूर्व वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले केदारनाथ मन्दिरको धार्मिक महत्वकाबारेमा जानकारी दिंदै शिवधाममा परिणत गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञ सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्नकालागि सहयोग गर्ने संघ संस्था तथा महानुभावहरुलाई मूल समारोह समितिका तर्फबाट उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
योगी नरहरिनाथद्वारा स्थापित केदारनाथको महत्व र यसको पहिचान उजागर गर्दै एउटा धार्मिक केन्द्रकोरुपमा विकास गर्ने गरी अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो । केदारनाथलाई शिवधामकोरुपमा विकास गर्नकालागि आवश्यक पूर्वाधार निर्माण कार्य अब अगाडि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा भागवतालङ्कार पण्डित नेत्रप्रसाद पराजुलीले मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने, तीर्थयात्रीका लागि आवासको ब्यवस्था, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकूलम्) सञ्चालन, क्रियापुत्री भवन निर्माण एवम् अन्न क्षेत्र स्थापना गर्ने उद्देश्यसहित महायज्ञ सञ्चालन गरिएको बताउनुभयो ।
यसैबीच केदारनाथ धाम निमार्णका लागि नेपाल सरकारबाट आर्थिक वर्ष २०८२÷०८३को संघीय बजेटमा ३ करोड रुपैयाँ विनियोजन भएकोसमेत बताईको छ ।