असार ६, वालिङ ।
स्याङ्जाको वालिङस्थित आँधीखोलामा जिल्ला विपत् व्यवस्थापन समितिको अनुमतिमा ढुङ्गा गिटी, बालुवा उत्खनन गरिएको वालिङ नगरपालिकाले जानकारी गराएको छ । आज पत्रकार सम्मेलन गरी विज्ञप्ती मार्फत आँधीखोलामा जिल्ला विपत् व्यवस्थापन समितिको अनुमतिमा ढुङ्गा गिटी, बालुवा उत्खनन गरिएको वालिङ नगरपालिकाले जानकारी गराएको हो ।
आँधीखोलाको नदिजन्य पदार्थ उत्खनन गर्ने कार्यका लागि वालिङ नगरपालिका क्षेत्रभित्र पर्ने खण्डको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको आधारमा पटक पटक ठेक्का सूचना गर्दा सुर्कौंदी पुलदेखि वायँखोला दोभान बाह्रविसेसम्मको खण्डमा ठेक्का नलागेको नगर विपत् व्यवस्थापन समितिले जिल्ला विपत् व्यवस्थापन समितिलाई मेशिल प्रयोग गरी २ हजार ५ सय घनमिटर सामग्री निकाल्न अनुमति दिन सिफारिस गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले ढुङ्गा गिटी, बालुवा उत्खनन विक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को नियम ४(४) वमोजिम वालिङ ९ स्थित डुँढरह नजिक क्षेत्रको स्थलगत अनुगमन गरी मेशिनको प्रयोग गर्ने अनुमति प्राप्त भएको विज्ञप्तीमा भनिएको छ ।
सोही अनुसार आर एस तुण्डी जेभीलाई भूम्रे अर्चलबोट तमादी डुम्रे भञ्ज्याङ सडक निर्माण कार्यमा प्रयोग गर्नेगरी ग १ क ४७५९ नम्वरको एक्साभेटर र ना. २ क ४९३ टिप्पर मार्फत उत्खनन गर्न अनुमति दिइएको थियो । ठेक्का नलागेको घाटबाट नगरक्षेत्रमा सञ्चालित अन्य योजनाहरुको कार्य सम्पन्न गर्नका लागिसमेत नगरपालिकामा पेस गरेका निवेदनहरुको आधारमा ढुङ्गा तथा गिटी, बालुवा उपलव्ध गराइएको थियो । यही असार ३ गते नदि उत्खननको विषयमा दुःखद घटना भएकोले उक्त घटना प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, वालिङ नगर प्रमुख कृष्णद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
असार ३ गते नदि उत्खननका विषयमा विवाद हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनकर नेपाल घाइते हुनुभएको थियो । रास्वपाका नेपाल र मेघ आलेसहितको समूहले नदि उत्खननका विषयमा सम्बन्धित स्थानमा कार्यक्रम गरिरहेका बेला कम्पनीका तर्फबाट १० नम्वर वडा अध्यक्ष सुनिल खनालसमेतसँग एक आपसमा विवाद भएको थियो ।