Logo

शनिवार, कार्तिक १ गते २०८३

images

घरको काम सम्हाल्दै वडावासीमा लोकप्रिय लुकमायाँ

घरको काम सम्हाल्दै वडावासीमा लोकप्रिय लुकमायाँ

  • गोपाल जिटी
  • आइतवार, आषाढ ८ २०८२


  • घरको काम सम्हाल्दै वडावासीमा लोकप्रिय लुकमायाँ

    असार ८, वालिङ ।
    नेपालको संविधान २०७२ ले देशमा तीनतहको राज्य प्रणालीको व्यवस्था गरेको छ । संघीय, प्रदेश र स्थानीय गरी तीनतहको राज्य व्यवस्था अनुसार देश अगाडि बढिरहेको छ । हरेक जातजातीलाई आरक्षणसहितको स्थान दिएसँगै दलित कोटाबाट स्थानीयतहको वडामा दलित महिला जनप्रतिनिधि संविधानले अनिवार्य गरेको छ । जस अनुसार देशभरका स्थानीयतहका वडाहरुमा दलित महिला जनप्रतिनिधिहरु समाजसेवामा सक्रीय भएर लाग्ने अवसर पाएका छन् ।
    यतिबेला नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनप्रतिनिधीहरु लागिरहेका छन् । जनप्रतिनिधीहरु आ—आफ्नो वडाका आवश्यकताहरुको लागि योजनामा तल्लीन छन् । 
    यसैबीच स्याङ्जाको वालिङ नगरपालिका १० नम्वर वडा सदस्य लुकमायाँ नेपाली (एस के) टोल टोलमा पुग्ने र भएगरेका कामको समिक्षा एवम् आगामी योजनाका बारेको छलफलमा निकै व्यस्त हुनुहुन्छ । योसँगै घरको काम सम्हाल्दै आफ्नो वडावासीका बीच लोकप्रियमा पर्नुुहुन्छ लुकमायाँ ।
    सानैदेखि समाजसेवामा रुचि राख्ने नेपालीलाई २०७४ को स्थानीय निर्वाचनले अवसर दिएको हो । प्राप्त अवसरलाई सदुपयोग गर्दै लुकमायाँ समाजका हरेक कार्यक्रम र गतिविधीमा सक्रीयतापूर्वक लाग्दै आउनुभएको छ । 
    पर्वतको विहादी गाउँपालिका २ नैनादी माइती भएकी नेपाली ५ वर्षे शिक्षण सेवा पछि राजनीतिमा प्रवेश गर्नुभएको हो । माइतीमा छँदा विविध परिस्थितिले राजनीतिमा लाग्ने वातावरण मिलेन तर विवाह भएपछि सानैदेखिको समाजसेवाको यात्रा अगाडि बढाउनु भएको हो । नेपालीको श्रीमान् श्रीमतीकोसाथमा एकछोरा र एक छोरी गरी ४ जनाको परिवार छ । छोरी ९ र एक छोरा कक्षा ७ मा पढ्दैछन् । श्रीमान् नेत्रबहादुर वैदेशिक रोजगारीमा हुनुहुन्छ भने जनप्रतिनिधी भएर समाजसेवाका लागि परिवारको राम्रो सहयोग रहेको लुकमायाँ बताउनुहुन्छ । 
    गाउँटोलमा आवश्यक बाटोघाटो, खानेपानी, आमा समूह, क्लवजस्ता सामाजिक संस्थासँगको सहकार्य, स्वास्थ्य बीमालगायत आधारभूत काम वडा सदस्यको भूमिका रहन्छ । सोहि अनुसार गर्दै आएकि लुकमायाँको ओमशान्ति टोलस्थित राङ्दीका २६ घरधुरीमा एक घर एक धारा अन्तर्गत खानेपानीको सुविधा छ ।
    लुकमायाँले विवाह भएपछि वडा नागरिक मञ्चको सदस्यमा रहेर समाजसेवाको यात्रा सुरु गर्नुभएको हो । समाजसेवामा अगाडि बढ्दै गर्दा उहाँले नेकपा एमालेको तर्फबाट २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यको उमेदवारको अवसर पाउनुभयो । वडा नागरिक मञ्चको सदस्यमा रहेर काम गरिसकेकाले लुकमायाँलाई चुनावका समय नागरिकहरुका बीच जान असजिलो भएन । फलस्वरुप वडावासीले पनि सदस्यहरुमध्ये धेरै मतले निर्वाचित गराएर लुकमायाँलाई जिम्मेवारी सुम्पिए र वडा सदस्यकारुपमा अगाडि बढ्नुभएको हो ।
    छोराछोरीको हेरचाह र घरायसी कामकाजको मेसो मिलाएर आफ्नो जिम्मेवारीमा खटिनुभएकी लुकमायाँ वडावासीले रुचाइएकिमा पर्नुहुन्छ । पहिलो कार्यकालमा वडावासीको मन जितेकी लुकमायाँलाई २०७९ को निर्वाचनमा पुनः निर्वाचित गराएर दोस्रो पटक सेवा गर्ने मौका मिल्यो । २०७४ स्थानीय निर्वाचन बाट चिनिने मौका मिल्यो र वडाबासीसँग हातेमालो गर्ने अवसर पाएँ । २०७९ मा आएर वडावासीले पुनः तिमी नै उठ्नुपर्छ भनेपछि फेरि अगाडि बढेकि हुँ लुकमायाँले भन्नुभयो । २०७४ मा ९ सय ३७ मत पाएर भारी मतले निर्वाचित बनाएका वडावासीले २०७९ मा ९ सय ७९ मतसहित अझ धेरै भोट दिएर जिम्मेवारी सुम्पिए । प्राप्त जिम्मेवारीसहित काम गर्ने थप उत्साही बनायो ।
    पहिला बरु छोराछोरी सानै थिए, केही गाह्रो थियो, पछि उनीहरु पनि हुर्के बढे समय दिन सजिलो भएको लुकमायाँ बताउनुहुन्छ । अहिले छोरा छोरी स्कूल पठाएपछिको समय टोलवासीहरुका साथमा जानु र भए गरेका कामको समिक्षा गर्नु अनि अरु आवश्यकताका बारेमा छलफल गर्नुमै लुकमायाँको समय व्यतित हुने गर्दछ । इमान्दारिता, लगनशीलता र जिम्मेवारीलाई आत्मसाथ गरेर लाग्नु नै मेरालागि अगाडि बढ्ने ढोका खुल्दै गएको उहाँको बुझाई छ ।

    स्थानीय सरकारमा रहेको कारणले गर्दा दलित महिला प्रतिनिधि लुकमाया नेपाली ए.के कार्यवाहक वडा अध्यक्षको समेत अनुभव छ । “स्थानीय सरकार सवलिकरण” परियोजना अन्तर्गत “दलित महिला केन्द्र नेपाल” (सि डि डव्लु एन) संस्थाले निर्वाचित महिला प्रतिनिधीहरुलाई सक्षम, दक्ष तथा नेतृत्वकर्मी बनाउने उद्देश्य राखी स्थानीय सरकार सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरी प्रभावकारी सिकाई गराउन सफल भएको उहाँले बताउनुभयो । 
    कृषि सामाग्री वितरण, पशु क्षेत्रमा बाख्रा वितरण, कुखुराका चल्ला वितरण जस्ता जिम्मेवारीका कामहरु उहाँको नेतृत्वमा सफल भएको छ ।
    महिला प्रतिनिधीहरुलाई सबल, सक्रीय र क्षमताको विकासको लागि दलित महिला केन्द्र नेपालले वालिङ नगरपालिकाका निर्वाचित महिला प्रतिनिधीहरुको क्षेत्रमा निकै ठूलो योगदान पु¥याएको उहाँले  उल्लेख गर्नुभयो ।
    आगामी निर्वाचनमा अध्यक्ष भएर काम गर्ने लुकमायाँको योजना छ । प्रावि र निमावितहको शिक्षणमा पनि बालबालिकाहरुले आँफूलाई निकै मन पराउँथे, लुकमायाँ सुनाउनुहुन्छ । वडा नागरिक मञ्चको सदस्यको जिम्मेवारीमा हुँदादेखि नै वडावासीले पनि साथ दिनुभएकाले काम गर्न लुकमायाँलाई थप उत्साही बनाएको हो । हामीले एकैचोटी ठूलो पद ताक्नुभन्दा तल्लोतहबाटै यात्रा गर्दा राम्रो हुने आफ्नो अनुभवले सिकाएको उहाँ बताउनुहुन्छ । समाजमा पछाडि पारिएका र निम्नवर्गमा रहेकालाई माथि उठाउन ध्यान जाने लुकमायाँ भन्नुहुन्छ, “अब वडा अध्यक्षको जिम्मेवारी सम्हाल्ने चाहना छ, सुरुदेखि सफल हुँदै आएको छु र अगाडिका यात्रामा पनि सफलता मिल्ने विश्वास छ ।” 

    images

    आइतवार, आषाढ ८ २०८२०९:०८:१९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend