असार १२, वालिङ ।
पाल्पाको रामपुरमा मौरीपालक कृषकहरुका लागि अनुदानमा मौरीको घार वितरण गरिएको छ ।
नगरपालिकाले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीको घार वितरण गरेको हो । मौरी पालन गर्दै आएका कृषकलाई मागको आधारमा अनुदानमा घार वितरण गरिएको हो । नगरपालिकाले बुधवार ९५ वटा मौरीको घार वितरण गरेको छ ।
कृषकहरुलाई घार वितरण गर्दै रामपुर नगर उपप्रमुख बाल कुमारी थापाले मौरी पालनलाई व्यवसायिक रुपमा प्रबद्र्धन गर्नका लागि मौरीको घार वितरण गरिएको बताउनुभयो । उहाँले वितरित घारमा मौरी पालेर आम्दानी गर्न सके मात्र कार्यक्रमले सार्थकता पाउने बताउनुभयो । उपप्रमुख थापाले मौरी पालन सजिलो र थोरै लगानीबाट पनि आम्दानी गर्न सकिने भएकाले यसलाई व्यवसायीक रुपमा गर्न आग्रह समेत गर्नुभयो । मौरी पालनलाई व्यवसायिक विकास र कृषकहरुको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई थियो । साथै अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरी सोकोसमेत व्यवस्था गरेको जानकारी दिनुभयो । नगरपालिका भित्र व्यवसायीक रुपमा मौरी पालन गर्ने कृषक न्यून रहेको र मौरी पालनलाई व्यवसायीक रुपमा अगाडी बढाई व्यवसायीक सफलता लिन कृषकहरुलाई आग्रह नगर उपप्रमुख थापाले आग्रह गर्नुभयो ।
यस्तै नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले परम्परागत घारमा मौरी पालन गर्दै आएका किसानहरुलाई धेरै उत्पादन गर्न सहज होस भन्ने उद्देश्यले आधुनिक मौरीको घार वितरण गरिएको बताउनुभयो । कृषकको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जना कृषकलाई ९५ वटा मौरीको आधुनिक घार वितरण गरिएको शाखा प्रमुख गैरेले जानकारी दिनुभयो ।