पर्वत-पर्वतको पैयूँ गाउँपालिकामा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइएकाे धान दिवस कृषि ज्ञान केन्द्र पर्वत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाग्लुङ, पैयूँ गाउँपालिकाकाे सहयाेग समन्वय र गाउँबेसि कृषक समूह पैयूँ-२ तथा पैयूँ युवा समूह पैयूँ-४ को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम बिकले कृषिमा आत्मनिर्भर बन्न यस्ता कार्यक्रमले प्रेरणा दिने बताए। उनले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न आवश्यक रहेको धारणा राखे। जिल्ला समन्वय समितिका उपप्रमुख सोम बहादुर जिसीले कृषकको मिहिनेतलाई सम्मान गर्दै उत्पादन वृद्धि र बजार सुनिश्चिततामा सबै पक्ष लाग्नुपर्ने बताए।
पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले कृषकमैत्री कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए। उपाध्यक्ष याम कुमारी रानाले कृषि आत्मनिर्भरता र समृद्धिको आधार भएको बताउँदै कृषकहरूको योगदानप्रति सम्मान प्रकट गरिन्।
त्यस्तै, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख पर्शुराम अधिकारी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाग्लुङका प्रमुख नारायण पौडेलले पनि शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकिकरण र युवाको आकर्षण आवश्यक रहेको औँल्याए।
कार्यक्रममा डोरी तान्ने, दौड प्रतियोगिता लगायतका खेलहरू आयोजना गरिनुका साथै बाजा–गाजासहित बजार परिक्रमा गरी खेतमा धान रोप्ने कार्यक्रम सम्पन्न गरिएको थियो।
धान दिवसमा स्थानीय कृषक, जनप्रतिनिधि, कर्मचारी तथा समुदायको उत्साहजनक सहभागिता रहेको थियो।