असार २०, वालिङ ।
पाल्पाको रामपुरमा विद्युत सेवा सम्बन्धी सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया गरिएको छ । रामपुर नगरपालिका क्षेत्रको विद्युत सेवामा देखिएको समस्याको विषयमा सरोकारवाला बीच विहिबार छलफल तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा विद्युत महसुल, भोल्टेज स्तर, प्रशारण लाईनको विषयमा देखिएको समस्या र सम्भावित सुधार लगाएतका विषयमा छलफलसहित अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला जलविद्युत केन्द्र गल्याङ्गका प्रतिनिधि संँगै नगर भित्रका जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । नगरप्रमुख थापाले विपिसीले विद्युत महशुल वृद्धि गरे पनि नगरपालिका भित्र पछिल्लो समय विद्युत सेवा प्रवाहमा समस्या देखिएकाले समाधानका लागि आवश्यक देखिएकाले छलफलसहित अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।
विपिसीको विद्युत सेवाको विषयमा जनताले गुनासो गर्दै आएकाले विपिसीलाई सेवाको गुणस्तरमा सुधार गर्न नगरप्रमुख थापाले आग्रह गर्नुभयो । उहाँले विद्युत लाईन अनियमित हुँदा उद्योगी व्यवसायीहरु मात्र नभै खानेपानी एवम् अन्य योजनाहरुसमेत प्रभावित बनेको औंल्याउनुभयो । तत्काल सुधार गर्न सकिने कार्यलाई यथाशिघ्र सुधार गर्नु पर्नेमा नगरप्रमुख थापाले जोड दिनुभयो ।
यसैगरी सहभागीहरुले महशुलको विषयमा संघर्ष समिति र कम्पनी बीचको सहमतिमा गुणस्तर सुधार गरेर मात्र महशुल वृद्धि गर्ने भनिए पनि विपिसिले एक्कासी महशुल वृद्धि गर्नु आपत्तिजनक रहेको, विद्युतको पोल व्यवस्थापन र भोल्टेज सुधार तत्काल गर्नुपर्नेलगायतका धारणा राखेका थिए ।