असार २५, वालिङ ।
स्याङ्जाको सदरमुकाम नजिकै बाडखोलाको भाइटारीमा धामी झाँक्री तथा तन्त्रमन्त्र विधिबाट उपचारसहितको तालिम चलिरहेको छ । यही असार २१ गतेदेखि भुजेल समाज बाडखोलाले चर्चित झँक्री प्रकाश भुजेलको उपस्थितिमा १० दिने तालिम सञ्चालन गरेको हो । आजको युगमा पनि नागरिकहरुलाई धामी झाँक्री तथा तन्त्रमन्त्र विधि जस्तो अन्ध विश्वासको तालिम सञ्चालन गर्न पुतली बजार नगरपालिकाले अनुमति दिएर गैर जिम्मेवारीपन देखाएको छ ।
यसबारे बुझ्न नगरप्रमुख तुलसीराम रेग्मीलाई फोन गर्दा तालिम सञ्चालन गर्नका लागि पत्र लिएर नगरपालिकामा आए, हुन्छ सञ्चालन गर्नुस भनेर अनुमति दिएको बताउनुभयो । आजको युगमा आएर पनि यस्तो अन्धविश्वासी खेतिको लागि स्थानीय सरकारले अनुमति दिन हुन्छ ? भनी सोध्दा नगरप्रमुख रेग्मी भन्नुहुन्छ—तालिम सञ्चालन गछौं भनेर पत्र लिएर आए, खै के के तालिम चलाएका छन्, हेर्न गएका छैनौ । स्थानीय सरकार प्रमुख जस्तो व्यक्तिले तालिमको प्रकृति, उद्देश्य, सामाजिक प्रभाव वा सन्देशका सन्दर्भमा बिना सुझबुझ अनुमति दिनुले गैर जिम्मेवारीपन स्पष्ट देखिन्छ । तालिमको सन्दर्भमा सम्बन्धित वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ भन्नुहुन्छ—तालिम सञ्चालनका लागि वडाले जिल्ला प्रशासनलाई सिफारिस गरेको र सोहि अनुसार भुजेल समाजले तालिम सञ्चालन गरेको हो ।
यसबारेमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसँग फोन मार्फत बुझ्दा तालिम सञ्चालनका लागि अनुमति लिन आउनेहरुलाई यस्तो कार्यक्रम गर्न मिल्दैन भनेर सिफारिस फर्काइएको बताउनुहुन्छ । तालिम चलिरहेको जानकारी छैन र ? भनी सोध्दा आँफूलाई जानकारी नभएको र यसबारेमा तुरुन्त बुझने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ ।
बाजागाजा एवम् ¥यालीसहित गरिएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय नजिकै वारिपारी पर्छ । सामाजिक सञ्जाल फेसबुकमा पनि छरपष्टरुपमा प्रचार देखिन्छ ।
कतिपय पालिकाहरुले परम्परादेखि चल्दै आएका रुढीवादी प्रचलन र चिन्तनलाई सकारात्मक सचेतनाले विस्थापित गर्नेलगायतका कार्यक्रमहरु सञ्चालन गरेका विभिन्न सञ्चार माध्यमहरुले दिइरहेका हुन्छन् । तर पुतलीबजारमा भने अन्धविश्वास तथा रुढिगत विषयलाई प्रश्रय दिएको स्पष्ट देखिन्छ ।
फितलो जिल्ला प्रशासन र स्थानीय सरकारको भूमिकामा रहेको पुतलीबजार नगरपालिकाको गैर जिम्मेवारीले कस्तो समाज बनाउन खोजेको छ ? भन्ने प्रश्न चिन्ह खडा गरेको छ ।
