असार २८, वालिङ ।
स्याङ्जाको वालिङमा यही साउन १ देखि एक महिनासम्म सञ्चालन गरिने महायज्ञको प्रचार प्रसार स्वरुप मोटर साइकल ¥याली गरिएको छ । वालिङ १३ को पाठखोलास्थित शिव पार्वती त्रिवेणी धाम मन्दिरमा यही साउन १ देखि ३१ गतेसम्म सञ्चालन गरिने शिव महापुराण कथा तथा तण्डुलाचल ज्ञान महायज्ञ– २०८२ को प्रचार प्रसारसहित जानकारी दिन आज मोटरसाइकल ¥याली गरिएको हो । महायज्ञ सञ्चालन हुने मन्दिर प्राङ्गणदेखि सुरु भएको मोटरसाइकल ¥याली वालिङको मुख्य बजार क्षेत्र परिक्रमा गरिएको थियो । कथा वाचक पं. प्रकाश तिवारीसहित महायज्ञ मूल आयोजक समिति, स्थानीय धर्मानुरागी महानुभावहरु र सर्वसाधारणको सहभागितामा मोटरसाइकल ¥याली गरिएको हो ।
यसैबीच महायज्ञका कथा वाचक पण्डित तिवारीले धर्म संस्कार र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । हामीले आफ्नो धर्म, संस्कृतिको संरक्षणका लागि साउन महिना भरी महायज्ञको आयोजना गरिएको पं. तिवारीको भनाई छ । उहाँले भन्नुभयो, “भगवान परमात्माले हामीलाई जन्मदिएर पठाउनु भएको छ । हामीलाई जन्म दिएर पठाउने देवताका पनि देवता शिव भगवान हुनुहुन्छ । साउन महिना शिव भगवानको प्रिय महिना भएकाले यो पुण्य धाममा महिनाभरी कथावाचनसहित तण्डुलाचल महायज्ञ गर्न लागिएको हो । आसुतोष भगवानलाई छिटै प्रशन्न हुने पूजा आराधनासहित पुकार गरियो भने धर्म, अर्थ काम मोक्ष प्राप्त हुने शिव महापुराणमा लेखिएको हुनाले पनि महायज्ञको आयोजना गरिएको हो ।” यसका साथै यहाँ स्थापित मन्दिर सञ्चालन एवम् दैनिक पूजा आराधनासहितको व्यवस्थापकीय क्षेत्रमा आर्थिक सहयोग पुगोस भनेर पनि महायज्ञ सञ्चालन गर्न लागिएको पण्डित तिवारीले बताउनुभयो । यो पवित्र महायज्ञमा उपस्थित भएर पुण्यलाभ लिनका लागि कथा वाचक पं. तिवारीले आग्रह गर्नुभएको छ ।
महायज्ञमा पाठ पारायण, सङ्गीतमयरुपमा कथावाचन, लोक भजनगीत प्रतियोगिताको साथमा चर्चित भजन गायक गायिकाहरुद्वारा दैनिक भजन किर्तन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । श्री शिव पार्वती त्रिवेण धाम मन्दिर व्यवस्थापन समिति वडा नम्वर १३ को आयोजनामा हुने महायज्ञको संरक्षकमा वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय रहेको छ ।
