Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भानु जयन्तीको अवसरमा वालिङमा ‘विज्ञान, वातावरण र व्यक्तित्व’ पुस्तक लोकार्पण

भानु जयन्तीको अवसरमा वालिङमा ‘विज्ञान, वातावरण र व्यक्तित्व’ पुस्तक लोकार्पण

  • गोपाल जिटी
  • आइतवार, आषाढ २९ २०८२


  • भानु जयन्तीको अवसरमा वालिङमा ‘विज्ञान, वातावरण र व्यक्तित्व’ पुस्तक लोकार्पण

    असार—२९, वालिङ, ।
    २ सय १२ औं भानु जयन्तीको विशेष अवसर पारेर भेषजराज साहित्य प्रतिष्ठान, वालिङ स्याङ्जाले आफ्नो नियमित रचनावाचनको ८६ औं शृङ्खला एवम् पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । वालिङ–१०, फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको हलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
    कार्यक्रममा यमकान्त खनालद्वारा लिखित पुस्तक ‘विज्ञान, वातावरण र व्यक्तित्व’ को लोकार्पण गरिएको छ । सो पुस्तकमा विज्ञान, वातावरण र समाजसँग सम्बन्धित विविध पक्षहरू समेटिँदै १ सय ८ शीर्षक समावेश गरिएका छन् ।
    कार्यक्रमको प्रमुख आमन्त्रितमा पूर्व मन्त्री तथा आनन्द आश्रम ज्ञानकेन्द्रका संस्थापक संरक्षक त्रिलोचन ढकाल रहनुभएको थियो । पूर्वमन्त्री ढकालले पुस्तकको महत्त्वमाथि प्रकाश पार्दै यस्ता कृतिहरूले समकालीन चेतनामा सशक्त प्रभाव पार्ने बताउनुभयो । आफ्नो शैक्षिक ज्ञान लोकार्पण गराएर नेपाली साहित्यमा लेखकले महत्वपूर्ण कार्य गर्नु भएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
    ध्रुवप्रसाद शर्मा पंगेनी र डा.शङ्कर गैह्रेले पुस्तकका बारेमा समीक्षा गरेका थिए । वोधगम्य र सरल शव्दमा व्यवहारिक चिन्तन, ज्ञान एवम् वस्तुनिष्ट रहेको समीक्षक द्वयले बताएका छन् । लामो समय शिक्षण अनुभवबाट निवृत्त हुनुभएका र सामाजिक क्षेत्रमा समर्पित लेखक खनालको सिर्जना पठनीय र अमूल्य सम्पत्ति  भएको समीक्षकहरुले विश्वास व्यक्त गरेका थिए । 
    कार्यक्रमको व्यवस्थापन पूर्णामृत भवानी माविद्वारा गरिएको थियो । कार्यक्रममा साहित्यप्रेमी, शिक्षक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । रचनावाचन सत्रमा विभिन्न स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा साहित्य र शिक्षाको प्रभावकारी संयोजन गर्दै साहित्यिक चेतनालाई थप उचाइमा पु¥याउने प्रयास गरिएको आयोजकले जनाएका छन् ।

    आइतवार, आषाढ २९ २०८२०५:०७:१२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend