मंसिर १५, मोदी, पर्वत । खर्च कटौती र मितव्ययीतालाई प्राथमिकता दिँदै पर्वतको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट राष्ट्रपति रनिङ शिल्ड, अध्यक्ष कप तथा बालमैत्री वडा घोषणा—तीन औपचारिक कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार डिमुवास्थित नवजागृत बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रम प्रदेशसभा सदस्य भक्त कुँवरले उद्घाटन गर्नुभयो। उहाँले मितव्ययी व्यवस्थापनको प्रशंसा गर्दै खेलमार्फत युवालाई देशको पहिचानसँग जोड्नुपर्ने धारणा राख्नुभयो।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले खेल कार्यक्रमले युवालाई कुलतबाट टाढा राख्ने र बालमैत्री वडाको घोषणाले बालबालिकाको विकासमा योगदान पुर्याउने बताउनुभयो। उपाध्यक्ष बिमल लामिछानेले खेल क्षेत्रप्रति पालिका सदैव संवेदनशील रहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले एउटै मञ्च प्रयोग गरेर समय र खर्च दुवै बचत भएको बताए।
सोही अवसरमा मोदी–६ तिलाहारलाई बालमैत्री वडा घोषणा गरिएको छ।
अध्यक्ष कपअन्तर्गत भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डमा विभिन्न विद्यालयको सहभागिता रहेको पालिकाले जनाएको छ।