फागुन १५,पर्वत । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न पर्वत जिल्लामा मदिराजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवनमा अस्थायी रूपमा निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको सूचनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ तथा निर्वाचन आयोगको मिति फागुन १३ मा प्रकाशित प्रेस विज्ञप्ति र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम उक्त निर्णय गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार फागुन १५ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म पर्वत जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण,ओसारपसार तथा सेवन गर्न निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्णय कार्यान्वयनका लागि सुरक्षा निकायबाट कडा अनुगमन तथा निगरानी गरिने जनाएको छ । सूचनाको अवज्ञा वा उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवालालाई सूचनाको पालना गर्न अनुरोध गरेको छ।
