वालिङ, ४ जेठ ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले विश्व सडक सुरक्षा सप्ताह कार्यक्रम सञ्चालन गरेको छ ।
सडक दुर्घटना न्यूनीकरण, चालक र यात्रुमा ट्राफिक नियमप्रति जिम्मेवारी, हेल्मेट, सिटबेल्ट, गति नियन्त्रणजस्ता सुरक्षा उपायमा जोड दिनु, सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउनु लगायतका उद्देश्यले विश्व सडक सुरक्षा सप्ताह कार्यक्रम गरिएको हो ।
अहिले नेपालभरि ‘विश्व सडक सुरक्षा सप्ताह–२०२६’ विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । यो कार्यक्रम मुख्य रूपमा संयुक्त राष्ट्रसंघको आव्हान तथा विश्व स्वास्थ्य संगठन (डव्लु एच ओ) को अवधारणा अनुसार मनाइँदै आएको विश्वव्यापी अभियान हो । नेपालमा यसको नेतृत्व मुख्यतः नेपाल प्रहरीको ट्राफिक व्यवस्थापन कार्यालयहरू, स्थानीय सरकार, यातायात व्यवस्था विभाग तथा विभिन्न सरोकारवाला संस्थाहरूले गरिरहेका छन् ।
यसैबीच वालिङमा पनि सवारी साधनमा स्टिकर टाँस्ने कार्यक्रममा गरिएको छ । कार्यक्रममा वालिङ नगर उप प्रमुख कविता तिवारी गैहे्रले सडक सप्ताह कार्यक्रम मार्फत सवारी चालक सचेतनाका साथै आफ्नो उद्देश्य अनुसार दुर्घटना न्यूनिकरण र सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उप प्रमुख गैहे्रले सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धी आम नागरिकहरु जानकार हुन आवश्यक रहेको भन्दै यसमा सबैको साथ र सहयोग हुनपर्ने उल्लेख गरिन् ।
वैशाख ३० गतेदेखि सुरु गरिएको कार्यक्रम जेठ ५ गतेसम्म विभिन्न सचेतनामूलक गतिविधी सञ्चालन गरेर मनाइने ट्राफिक कार्यालय वालिङका प्रहरी सहायक नीरिक्षक नोमबहादुर थापाले जानकारी दिए । विद्यालयहरुमा गई विद्यार्थीहरुलाई ट्राफिक सचेतनामूलक जानकारी गराउने, सवारी साधनहरुमा स्टिकर टाँस्ने, सवारी चालकहरुसँग ट्राफिक नियम पालना सम्बन्धी परामर्श गर्ने लगायतका कार्यक्रमहरु जेठ ५ गतेसम्म सञ्चालन गरेर विश्व सडक सुरक्षा सप्ताह मनाइने प्रहरी सहायक नीरिक्षक थापाले बताए ।
सडक सुरक्षा सप्ताह कार्यक्रम अन्तर्गत वालिङमा सञ्चालित सवारी साधनहरुमा सचेतनामूलक स्टीकर टाँस्ने कार्यमा रोटरी क्लव अफ वालिङले सहकार्य गरेको थियो ।