विहादी, १२ जेठ । पर्वतको विहादी गाउँपालिकामा महिला तथा किशोरीहरूका लागि उद्घोषण तथा क्षमता विकास तालिम सुरु भएको छ। महिलाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले गाउँपालिकाले सोमबारदेखि उक्त तालिम सञ्चालन गरेको हो।
तालिमको उद्घाटन गर्दै विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घोषण तालिमले बोल्ने कलाको विकास मात्र नभई व्यक्तिलाई समाजमा क्षमतावान् बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। महिला तथा किशोरीहरूले आम नागरिक र ठूला समारोहहरूमा आफ्ना भनाइहरू निर्धक्कसँग राख्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उनको भनाइ थियो।
हाम्रो समाजमा अझै पनि कतिपय महिलाहरू आफ्नो नाम र परिचय समेत स्पष्टसँग दिन धकाउने अवस्था छ, अध्यक्ष गुरुङले भने, यो प्रशिक्षणबाट सामान्य कार्यक्रम सञ्चालन गर्ने मात्र नभई, ठूलो भेलाको अगाडि उभिएर निर्धक्कसँग मन्तव्य राख्न सक्ने नेतृत्व तयार हुनेछ। प्रशिक्षकले सिकाएका ज्ञानलाई व्यवहारमा उतारेर आफ्नो क्षमता बढाउन म आग्रह गर्दछु।
महिलालाई नेतृत्वमा ल्याउन तालिमको भूमिका...
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारीले महिलाहरूलाई चुल्होचौकोबाट बाहिर निकालेर नेतृत्व तहमा पुर्याउन यस्ता कार्यक्रम आवश्यक रहेको औंल्याइन्। पुरुषहरूको तुलनामा महिलाहरू अझै पनि घरभित्रै बढी सीमित हुँदा बोल्ने कला र नेतृत्व विकासमा पछि परेको उनको भनाइ थियो।
उच्च शिक्षा हासिल गरेर विभिन्न कार्यालयमा कार्यरत महिलाहरू समेत माइक समातेर बोल्नुपर्दा अलि कमजोर देखिने गरेको पाइन्छ, उपाध्यक्ष तिवारीले भनिन्, आफ्ना कुराहरू नलजाइकन र नडराइकन प्रष्टसँग राख्न सक्ने बन्नका लागि यो तालिमलाई एउटा सुनौलो अवसरका रूपमा लिन सहभागीहरूलाई अनुरोध गर्दछु।

सञ्चार कला नै व्यक्तित्वको पहिचान-प्रमुख प्रशासकीय अधिकृत...
कार्यक्रममा विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन बहादुर रेश्मीले क्षमता विकासका लागि सञ्चार कला र उद्घोषणको ठूलो महत्व रहने बताए। उनले स्थानीय तहले भौतिक विकाससँगै मानवीय र सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेको उल्लेख गर्दै तालिममा सिकेका कुराले सहभागीहरूको आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे।

१६ गतेसम्म चल्ने यस तालिममा गाउँपालिका भित्रका ३५ जना महिला तथा किशोरीहरूको सहभागिता रहेको छ। विहादी गाउँपालिकाको आयोजना तथा पावर न्यूज नेटवर्क प्रा।लि।को सहजीकरणमा सञ्चालित यस तालिमको प्रमुख प्रशिक्षकमा सञ्चारकर्मी शुष्मा पौडेल रहेकी छन्।