Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मिडियामा एआईको प्रयोगले पत्रकारितालाई छिटो र सहज बनाउँछ

मिडियामा एआईको प्रयोगले पत्रकारितालाई छिटो र सहज बनाउँछ

  • PNN Times
  • आइतवार, जेठ १७ २०८३


  • मिडियामा एआईको प्रयोगले पत्रकारितालाई छिटो र सहज बनाउँछ

    वालिङ, १७ जेठ ।
    मिडियामा ए आईको प्रयोग सम्बन्धी दुईदिने अभिमुखीकरण तालिम वालिङमा सम्पन्न भएको छ । ए आईका विभिन्न एप्लिकेशनहरुबाट बनाईएका अडियो तथा भिडियो सामाग्री आजभोली सामाजिक सञ्जालमा निकै हेर्न र सुन्न पाइन्छ । विश्वका विभिन्न देशहरुमा ए आईका टुल्सहरु प्रयोग गरी समाचार बनाउने र पढ्ने अभ्यास पनि भईसकेका छन् । यहि सन्दर्भमा पत्रकारिता क्षेत्रमा पनि ए आईको प्रयोगले पत्रकारहरुलाई सहजता प्रदान गर्ने सहभागीहरुले बताएका छन् । 

    नेपाल पत्रकार महासंघ स्याङ्जाको आयोजना तथा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिस्ट्रारको कार्यालयको सहयोगमा मिडियामा ए आई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम समापन समारोहमा तालिम लिएका पत्रकारहरुले यस्तो बताएका हुन् । 

    images

    तालिम समापान कार्यक्रममा आफ्नो अनुभव आदानप्रदान गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले समग्र पत्रकारिता तथा जिल्लाको पत्रकारिताको स्मरण गर्दै बदलिँदो समय अनुसार पत्रकारहरुले आँफूलाई ढाल्न सक्नुपर्ने बताए । उनले भने, ‘हस्तलेखन समाचार, फ्याक्सबाट पत्रकारिता सुरु गरेको हामी अहिले इन्टरनेटबाट सबै काम हुने समयसम्म आईपुगेका छौँ । यस्ता प्रविधिहरुको सहि प्रयोग गर्दै अगाडि बढ्नुपर्छ ।’

    यसैगरी गण्डकी समाचार डट कमका सञ्चालक तथा सम्पादक हिमलाल पराजुलीले भने, ‘ए आईको प्रयोगले पत्रकारको पेशालाई थप सहज र छिटो, छरितो बनाउन सहयोग गर्नेछ ।’ विभिन्न एप्लिकेशनहरुको प्रयोग गर्दा आफूले दिने सूचना सहि हुनुपर्ने भन्दै पत्रकारहरुलाई पनि समय अनुसार परिमार्जन आवश्यक रहेकोमा उनले जोड दिए । 
    कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका पूर्व उपाध्यक्ष भवानी अधिकारी, प्रेस युनियनका उपसभापति गोपिकृष्ण रेग्मी, प्रेस सेन्टर स्याङ्जाका अध्यक्ष केपि खनाल, जनपत्रकार संगठन स्याङ्जाका अध्यक्ष धु्रव गौडेललगायतले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले पत्रकारिता क्षेत्रलाई राज्यले थप चुनौतीपूर्ण बनाएको भन्दै सरकारले ल्याएको विभेदकारी निर्णय फिर्ता हुनेछ भन्ने प्रतिक्षामा पत्रकार महासंघ रहेको बताए । उनले भने, ‘पत्रकार तथा पत्रकार संवद्ध हरेक संघ संगठनहरुका भेलामा राज्यको विभेदकारी निर्णयको विषयमा छलफल भईरहेको छ । पत्रकारहरु अझै पनि आन्दोलित छन् ।’ खुल्ला अर्थतन्त्रको नीति रहेको राज्यमा सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिने निर्णय नीति विपरित रहेको अध्यक्ष कोईरालाले बताए । राज्यले उपेक्षित निर्णय गरिरहेको अवस्थामा पत्रकारहरु थप एकजुट भएर प्रविधिमैत्रि हुनुपर्ने कोइरालाले औंल्याए । आगामी दिनमा पनि पत्रकारहरुको क्षमता विकास गर्ने र पत्रकारहरुको हकहितका लागि महासंघ सँधै सकारात्मक भावनाका साथ अगाडि बढ्ने अध्यक्ष कोईरालाले व्यक्त गरे ।

    तालिममा नेपाली रेडियो नेटवर्कका संस्थापक एवम् पत्रकार जीवन भण्डारीले मिडियामा ए आईको बढ्दो प्रभाव, यसका अवसर, चुनौती र मल्टिमिडिया सामग्री उत्पादनमा ए आई टुल्सहरूको व्यावहारिक प्रयोगबारे प्रशिक्षण प्रदान गरेका थिए । तालिममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । 

    आइतवार, जेठ १७ २०८३०४:५२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend