असार १, स्याङ्जा ।
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो । समयको माग र आववश्यकतालाई मध्येनजर गर्दै स्याङ्जाको बिरुवा गाउँपालिकाले प्रविधिमैत्री शिक्षालाई जोड दिएको छ ।
गाउँपालिकाले प्रविधियुक्त शैक्षिक गुणस्तर वृद्धिका लागि स्मार्टबोर्ड जडानको तयारीमा लागेको छ । सामुदायिक विद्यालयहरुमा स्मार्टबोर्ड जडानको तयारीलाई तीब्रता दिइएको गाउँपालिकाले जानकारी दिएको छ ।
यो कार्यक्रमका लागि माध्यमिक विद्यालयका शिक्षकहरुलाई तालिम दिइएको छ । स्मार्टबोर्ड सञ्चालन तथा शैक्षिक सामाग्री निर्माण सम्बन्धी जेठ २९, ३० र ३१ गते गरी तीनदिने तालिम प्रदान गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले गाउँपालिका भित्र रहेका ९ वटा सामुदायिक विद्यालयहरुमा स्मार्टबोर्ड जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । माध्यमिक विद्यालयहरुमा स्मार्टबोर्ड जडानसँगै बिरुवा गाउँपालिकाको समग्र शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउने अपेक्षा लिइएको अध्यक्ष कुँवरले व्यक्त गरे ।