पौष ०७, वालिङ । वालिङ उद्योग वाणिज्य संघ २४औँ वर्षमा प्रवेश गरेको छ । संघको २४औँ स्थापना दिवसका अवसरमा मंगलबार संघको सचिवालयमा ‘उद्योग व्यवसायको वर्तमान अवस्था संभावना र चुनौती’ विषयक अन्र्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा नगरपालिका उपप्रमुख कल्पना तिवारीले वालिङ उद्योग वाणिज्य संघ र नगरपालिका एकआपसमा पारस्पारिक सम्बन्धका साथ अगाडि बढिरहेको भन्दै यसलाई निरन्तरता दिने बताउनुभयो । उद्योगी व्यवसायी तथा जो कोहीलाई पनि सिप आवश्यक परेमा नगरपालिकाले प्रदान गर्ने उपप्रमुख तिवारीले बताउनुभयो ।
उपप्रमुख तिवारीले उद्योगी व्यवसायीले आफ्नो व्यवसायलाई थप अगाडि बढाउनका लागी सिपको आवश्यक पर्यो वा अन्य नागरिकलाई पनि सिप सिकेर आत्मनिर्भर बन्न चाहनेलाई भने नगरपालिकाले सिप सिकाउने बताउनु भयो ।
सिप सिकेर उद्यमी बन्नका लागी आवश्यक अन्य सहयोग समेत गर्न तयार रहेको भन्दै सिपको उपयोग हुनुपर्नेमा नगर उपप्रमुख तिवारीले जोड दिनुभयो । साथै तिवारीले फरक प्रशंगमा देश अहिले दुर्घटनामा परेको बताउनुभयो ।
लोकतन्त्रको विधि र पद्धति अनुसार चल्नुपर्नेमा एकदुई जना व्यक्तिका कारण देशमा दुर्घटना निम्तिएको भन्दै यसबाट ३ करोड जनता निराश बनेको उपप्रमुख तिवारीको भनाई थियो । लोकतन्त्रको उपहास भएको भन्दै विधि र पद्धतिलाई कुल्चिने प्रयास भएको उहाँले बताउनुभयो ।
संघले २४औँ वर्षसम्म निरन्तर उद्योगी व्यवसायीको हकहित, आम नागरिकको जिविकोपार्जनमा निरन्तर भुमिका खेल्दै आएको छ भने वालिङमा नापीमालपोत कार्यालय ल्याउने, विद्युत महशुल घटाउने, कर र यातायात कार्यालय वालिङमा स्थापना गर्नुपर्छ भन्ने पक्षमा समेत भुमिका खेल्दै आएको छ ।