तोलाकान्त बगाले
वालिङ, १२ पुस । वालिङ नगरपालिकाका सुन्तला र कागती खेती गर्ने कृषि सहकारीहरुलाई कृषि औजारहरु हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका सुन्तला तथा कागतीका क्षेत्रमा काम गरेका विभिन्न ३० समूह तथा सहकारीलाई भर्याङ, सिकेचर र करौैती हस्तान्तरण गरिएको हो ।
कृषि औजारहरु हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले सुन्तला तथा कागतीको उत्पादन पश्चात सुरक्षित भण्डारणमा सहयोग पुर्याउने उद्धेश्यले औजारहरु वितरण गरिएको बताउनुभयो ।
उत्पादित बस्तुलाई सुरक्षित तरिकाले टिप्न, कटानी छटानी, गोडमेल गर्नका लागि कृषि औजार वितरण गरिएको बताउँदै कृषिलाई आधुनिक र ब्यवसायीकरण गर्नका लागि अन्य आवश्यक औजारहरु उपलब्ध गराउने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।
“जबसम्म श्रमको सम्मान हुँदैन तबसम्म कृषिले फड्को मार्न सक्दैन” नगर प्रमुख खाँणले भन्नुभयो, “यहाँहरु ब्यवसायिक उत्पादनतर्फ लाग्नुहोस् र उक्त अभियानतर्फ लाग्दै गर्दा के के समस्याहरु आईपर्छन् ती समस्याको समाधानका लागि नगरपालिका प्रतिबद्ध छ किसानहरुको साथमा सदैव रहने छ ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दै आगामी दिनमा ब्यवसाय प्रर्वद्धनका लागि थप सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो ।