माघ २२, पर्वत । कालीगण्डकी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड सम्पन्न भएको छ । प्रसारण लाइन र कुश्मा नगरपालिका तथा अन्नपूर्ण गाउँपालिकामा बनेका सब–स्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार काठमाण्डौबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिनुभयो ।
कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहको काम नेपाल सरकार र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण भइरहेको छ ।
करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भूमहीसम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।