वीरगन्ज — नेपाली भूमिमा प्रवेश गरी अवैध रुपले बालुवा भारततर्फ लैजाने समूहलाई नियन्त्रणमा लिँदा पर्सामा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
वीरगन्जबाट करिब ४५ किलोमिटर पश्चिममा रहेको पिपडाँडीस्थित ओरिया खोलाबाट भारतीय कारोवारीले विगत लामो समयदेखि ढुंगा र बालुवा अवैध रुपले उत्खनन गरी लैजाने गरेका छन् । अवैध उत्खननलाई नियन्त्रण प्रयास गर्दा पटक–पटक भारतीयले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।
स्थानीयका अनुसार बिहार पश्चिमी चम्पारण गदियानी भंगाहाका कारोबारीले बिहानदेखि साँझसम्म दैनिक एक सयदेखि एक सय ५० ट्याक्टर बालुवा उत्खनन् गरी लाने गरेका छन् । दुई देशको सीमा छुट्याउने पिलर नम्बर ४२४/१९ बाट झन्डै ७ सय मिटरभित्र नेपाली भूमिमा प्रवेश गरी निर्वाध रुपले बालुवा ढुवानी गर्दै आएका छन् । भारतीयले गरेको आक्रमणको विषयमा समकक्षीसँग समन्वय गरिरहेको सशस्त्रका एसपी राजेन्द्र खड्काले बताए ।
बालुवा तस्करी नियन्त्रणमा लिन सशस्त्र प्रहरीको जिराभवानी र पिडारीस्थित दुईवटा बीओपीको टोली शुक्रबार बिहान ओरिया खोलामा पुगेको थियो । ‘नेपाली भूमिमा प्रवेश गरी बालुवा लोड गरेका ३ वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो,’ स्थानीय ओमप्रकाश चौधरीले भने, ‘नेपालतर्फ बाटो खराब भएकाले ट्याक्टर खोलाको बगरमा फस्यो ।’
उनका अनुसार त्यही क्रममा तस्कर समूहको सहयोगका लागि सीमावर्ती भारत बिहारको इनर्वा र भंगाहाबाट गाउँले ओइरिए । ‘ट्याक्टरमा बालुवा लोड गर्ने कामदार इनर्वा र भंगाहाका हुन्,’ चौधरीले भने, ‘उनीहरुले बोलाएपछि गाउँलेहरु सहयोगका लागि खोलामा आइपुग्छन् ।’ तस्कर समूहले प्रहरीमाथि ढुंगा र बेल्चाले प्रहार गरेका थिए ।
अवैध ओसारपसार गरेको विषयमा उक्त स्थानमा पटक–पटक विवाद हुँदै आएको छ । ‘हाम्रै सम्पत्ति लुटेर खाएका छन्,’ स्थानीय मनोज रामले भने, ‘त्यसमाथि हामीलाई कुट्छन् पनि ।’ ५ वर्षअघि अवैध ओसारपसार नियन्त्रण गर्न जाँदा तस्कर समूहले प्रहरी नायब निरीक्षक (सई) गोपाल थामी, प्रहरी जवानद्वय सुरेन्द्र कलवार र सुनिल रिमाललाई कुटेर हात भाँचिदिएका थिए । ‘प्रहरीको हतियारसमेत लुटेरा लगेका थिए,’ स्थानीय सञ्चारकर्मी समेत रहेका ओमप्रकाश चौधरीले भने, ‘पछि सम्झाइबुझाई गरेपछि हतियार फर्काए ।’
सुरक्षा स्रोतका अनुसार दुई देशीय सीमासुरक्षा बैठकमा ओरिया खोलाको अवैध उत्खननबारे नेपाली पक्षले चासो साथ भारतीय समकक्षीको ध्यानाकर्षण गराउँछन् । ‘नेपाली भूमिमा जबरजस्ती प्रवेशमा रोक लगाइने भारतीय सुरक्षा अधिकारीले पटक–पटक प्रतिबद्धता समेत जनाएका छन,’ ती स्रोतले भने, ‘तर, कार्यान्वयन हुँदैन् ।’ राज्य कमजोर हुँदा आफ्नै सम्पत्ति विदेशीले लुटेर खाँदा निरीह बनेकोमा पिडारीवासीले ग्लानी प्रकट गरेका छन् ।