फागुन २२ । स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्रि नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार विशेष समारोहका बीच भीरकोट १ शिशौघारीमा आयोजित कार्यक्रममा नगरलाई बालमैत्रि नगर घोषणा गर्नुभएको हो ।
बालमैत्रि घोषणा गर्नुहुँदै प्रमुख शेरचनले बालमैत्रि कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले अन्याय र अत्याचारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख शेरचनले ‘बालमैत्रि स्थानीय शासन सबै तहमा हुन आवश्यक रहेको र यसले बालश्रम, बालविवाह जस्ता घटनालाई न्युनिकरण गर्ने उल्लेख गर्नुभयो ।’ हरेक तह व्यवहारिक रुपमै बालमैत्रि हुन आवश्यक रहेको भन्दै प्रमुख शेरचनले बालबालिकाको क्षेत्रमा गरिने लगानीले भविष्यमा उचित प्रतिफल मिल्ने बताउनुभयो ।
बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ । असल र निष्ठावान नागरिक निर्माणका लागि बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक छ । भीरकोटले बालबालिकाको क्षेत्रमा लगानी गरेको प्रति प्रशंसा गर्दै प्रदेश प्रमुख शेरचनले संविधानले निर्दिष्ठ गरेका बालमैत्रि सम्बन्धी विषयवस्तुलाइै बालमैत्रि घोषणाले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख छायाराम खनालले नगरलाई बालमैत्रि नगर घोषणाका लागि गर्भाअवस्थादेखि नै स्वस्थ बालबालिका लक्षित कार्यक्रमहरु गरिएको भन्दै गर्भवतीलाई अण्डा वितरण, नियमित गर्भ जाँच, पूर्ण खोपको सुनिश्चिता गरिएको बताउनुभयो । बाल विवाह न्युनिकरण, बालश्रमको अन्त्यका विभिन्न कार्यक्रम कार्यक्रमहरु गरेर बालमैत्रि नगर घोषणा गर्न सफल भएको नगर प्रमुख खनालले उल्लेख गर्नुभयो ।’
नेपालभरीका नगरपालिकामध्ये भीरकोट ७औँ, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जामै पहिलो बालमैत्रि नगर घोषित भएको हो । बालमैत्रि नगर घोषणाका लागि भीरकोटले २०७५ साल पौष ९ गतेदेखि नै बालमैत्रि स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्रि स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै बालमैत्रि स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भई आवधिक वार्षिक योजना शुरु गरिएको थियो ।