Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि पालिकाहरुले योजना बनाउँदै

सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि पालिकाहरुले योजना बनाउँदै

  • PNN Times
  • आइतवार, फाल्गुण २३ २०७७


  • सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि  पालिकाहरुले योजना बनाउँदै

    तोलाकान्त बगाले

    वालिङ, २३ फागुन ।  सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले आर्थिक विकासका लागि योजना निर्माण थालेका छन् ।

    वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा आज वालिङमा सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि योजनाको पहिचान तथा योजनाको प्राथमिकीकरण गरी योजना निर्माण गर्ने र कार्यान्वयनमा लैजाने भएका हुन् ।

    सुनौलीदेखि पोखरासम्म सिद्धार्थ राजमार्गसँग जोडिएका १५ वटा पालिका, चार वटा जिल्ला र दुई प्रदेशकाबीचमा समन्वय र सहकार्य गर्दै योजनाहरु पहिचान गर्ने, प्राप्त योजनाहरुको प्राथमिकीकरणका आधारमा योजना निर्माणपश्चात कार्यान्वयन गर्ने मुख्य उद्देश्य रहेको तानसेन नगरपालिकाका प्रमुख एवं सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोर मञ्चका अध्यक्ष अशोककुमार शाहीले बताउनुभयो ।

    शाहीले सिद्धार्थ राजमार्गसँग जोडिएका पालिकाहरुका संभावनाहरुको खोजी गरी आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    आर्थिक कोरिडोरसँग जोडिएका नगरपालिका र गाउँपालिकाहरुबीचका असल अभ्यासहरुको आदानप्रदान र अनुकरण गर्दै अगाडि बढ्नका लागि सहजता हुने बताउनुभयो ।

    प्रमुख शाहीले योजनाहरुको पहिचान र कार्यान्वयन गर्ने, सिद्धार्थ राजमार्गलाई आधार मानेर यस क्षेत्रमा सञ्चालन गर्न सकिने कृषि, जडिबुटी, पशुपालन, भौतिक संरचना पूर्वाधार निर्माण, पर्यटन, उद्योग, सूचना प्रविधिको पहिचान, स्वास्थ्य तथा खेलकूद, प्राकृतिक स्रोत ब्यवस्थापन, प्राविधिक शिक्षाको प्रचार प्रसार गर्न सहयोग पुग्ने बताउनुभयो ।

    यस क्षेत्रका नगरपालिका र गाउँपालिकाहरूबीच समन्वयमा गर्न सकिने परियोजनाहरूको पहिचान र छनौट हुने, समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको प्रमुख शाहीले बताउनुभयो । पालिकाहरुबीच निर्माण गरिएका योजनाहरुको प्राथमिकीकरणपश्चात गण्डकी र लुम्बिनी प्रदेश तथा केन्द्र सरकारसँग समन्वय र सहकार्य गर्दै योजनाहरु निर्माण गरिने प्रमुख शाहीको भनाई थियो ।

    वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले योजनाहरुको पहिचान सहित प्राथमिकीकरणका आधारमा पालिकाहरुबीच समन्वय र सहकार्य गर्दै विकासका गतिविधिहरु अगाडि बढाउँदा उपयुक्त हुने धारणा राख्नुभयो ।

    भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग सम्बन्धित क्षेत्रका पालिकाहरुबीचमा आर्थिक कोरिडोरको समग्र आर्थिक विकासको निम्ती परियोजनाहरु तर्जुमा गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि छलफल तथा अन्तरक्रिया महत्वपूर्ण हुने धारणा ब्यक्त गर्नुभयो ।

    योजना विद डा. अनिल सुबेदीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको सभापत्विमा सम्पन्न कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले स्वागत तथा सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

    छलफल कार्यक्रममा सिद्धार्थ राजमार्ग आसपासका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित सरोकारवालाहरूको सहभागिता रहेको थियो 

    आइतवार, फाल्गुण २३ २०७७०७:४४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend