चैत्र ८, वालिङ । वालिङ नगरपालिकाले बजार अनुगमन गरेको छ । अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि वालिङका दुग्धजन्य डेरी, तरकारी तथा फलफूल पसलहरुको अनुगमन गरिएको हो ।
स्थानिय बजार अनुगमन तथा व्यवस्थापन समितीका संयोजक एवं वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बजारलाई सुब्यवस्थित बनाउनुकासाथै उपभोक्ताहरुलाई गुणस्तरीय बस्तु उपलब्ध गराउनका लागि नगरपालिकाले नियमित बजार अनुगमन गर्ने कार्य अन्तर्गत अनुगमन गरिएको बताउनुभयो ।
वालिङ नगर कार्यपालिकाले बजार अनुगमन तथा व्यवस्थापन ऐन निर्माण गरी वार्षिक कार्यतालिका बमोजिम अनुगमन कार्य गरिएको उहाँले बताउनुभयो ।
गर्मी मौसम शुरु भएसँगै अनेक खालका रोगहरु लाग्न सक्ने भएकाले अखाद्य बस्तुहरुको बिक्री वितरण रोक्दै स्वच्छ र सफा खानेकुराको प्रयोग गर्न गराउन, मूल्य सूचि राख्न तथा नगरपालिकामा पसल दर्ता गर्नका लागि ब्यवसायीहरुलाई सचेत गराईएको संयोजक तिवारीले बताउनुभयो ।
ईलाका प्रशासन कार्यालय वालिङ, वडा प्रहरी कार्यालय वालिङ, उपभोक्ता हित संरक्षण मञ्च, नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।
