स्याङ्जा, १० असार । स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट बिहिबार सार्वजनिक गरेको छ । नगरपालिकाले नवौं नगर सभा मार्फत बिहिबार ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत गरेको हो ।
बजेट प्रस्तुत गर्दै पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीले चालु खर्च तर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्च तर्फ ३७ करोड ७९ लाख ५८ हजार विनियोजन भएको बताउनुभयो ।
नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रमलाई आवश्यकता अनुसार बजेट विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकास क्षेत्र तर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिवी निवारण कार्यक्रम, भूमि व्यवस्था नीति तथा कार्यक्रमा समेटिएको छ ।
सभा मार्फत भौतिक पूर्वाधार विकास क्षेत्र तर्फ घरनक्सा पास, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम रकम छुट्याइएको छ । यसैगरी सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा पारिएको छ ।
नगर सभामा वन तथा वातारण व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको बिधेयक २०७८ समेत प्रस्तुत गरेको हो ।
बजेट बाहेकका प्रतिवेदनहरु सभाले पास गरेको छ । यस अघी नगरप्रमुख सिमाकुमारी क्षत्रीले कार्यपालिकाबाट पास भएको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो ।