गोपाल जिटी
असार १७,वालिङ । स्याङ्जाको वालिङमा बङ्गुर श्रोतकेन्द्र सम्बन्धी तालीम सुरु भएको छ । वालिङ नगरपालिका वडा नम्बर ६ आँपडालीमा बिहिबारदेखि सुरु भएको बङ्गुर श्रोतकेन्द्र स्थापना सम्बन्धी तीनदिने तालीम उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ सेवाकेन्द्रले आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरु अब बचत तथा ऋणको कारोवार मात्र नभएर यस्ता सीपमूलक तालीम मार्फत आम नागरिकहरुलाई उद्यमशील बनाउन लाग्नुपर्ने बताउनुभयो । सीप सिकेर उत्पादनमा लाग्न आग्रह गर्दै अध्यक्ष पौडेलले तालीमले आय आर्जनमा जोडिन सहयोग पुग्ने बताउनुभयो ।
वडा नम्बर ६ को आँपडाली क्षेत्रलाई बङ्गुर पकेट क्षेत्रकारुपमा विकास गर्ने उद्देश्यले पनि तालीमको आयोजना गरिएकाले आवस्यक ज्ञानका साथै व्यवसाय प्रवर्दधन टेवा पुग्ने समेत अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।
उहाँले सहकारीका माध्यमबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नागरिकहरुलाई उद्यमी बन्न प्रेरित गर्नुका साथै आत्मनिर्भर हुन टेवा पुर्याउने हेतुले आर्थिक सहयोग गरेको जानकारी गराउनुभयो । पशु विकास अधिकृत हुमनारायण श्रेष्ठले सहजीकरण गरेको तालीममा २५ जना सहभागिता रहेको छ ।
वालिङ ८ मा प्रधान कार्यालय रहेको उपकार सहकारीले सेवाकेन्द्रको आयोजनामा तालीमको आयोजना गरेको हो । यसै क्रममा वालिङ ७ केवरेमा झोल सावुन बनाउने सम्बन्धी तीन दिने तालीम पनि बिहिबारदेखि नै सुरु गरेको छ । यी दुवै स्थानमा हुने तालीमहरु तीन तीन दिनसम्म सञ्चालन हुने सहकारीले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आर्थिक सहयोग एवम् जिल्ला सहकारी संघ स्याङ्जाको पहलमा कालिगण्डकी गाउँपालिका मार्पmत सहकारीले तालीमको आयोजना गरेको हो ।
तालीमबाट सहभागीहरुमा सम्बन्धित विषयको ज्ञान मिल्नुका साथै स्थानीय स्तरमा व्यवसाय प्रवद्र्धन हुने सहकारीले विश्वास लिएको छ ।