गोपाल जिटी
असार २२,वालिङ । स्याङ्जाको वालिङमा बाख्रापालक किसानहरुका लागि बीउ बोका वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा वालिङ नगरपालिका ८ का बाख्रापालक किसानहरुका लागि बीउबोका वितरण गरिएको हो ।
खरी बाख्रालाई नश्ल सुधार गरी उत्पादन गरिएका उन्नत जातको पचास प्रतिशत बोर बीउबोका ८ नम्बर वडाले प्रदान गरेको हो ।
बीउबोका हस्तान्तरण गर्दै वडा अध्यक्ष कमलप्रसाद सुवेदीले वडाको नियमित कार्यक्रम अन्तर्गत प्रदान गरिएको बताउनुभयो । १४ वडा रहेको नगरपालिकाको ८ नम्बर वडा पालिकाकै मध्येभागमा रहेको र पालिकाको मुख्य बजार क्षेत्र पनि यसै वडामा पर्दछ ।
वडा कार्यालयले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि बजार क्षेत्रमा कौशीखेतिको तालीम र ग्रामिण भेगमा बाख्रा तथा बङ्गुरका बच्चा ५० प्रतिशत अनुदानमा प्रदान गर्दै आएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
वडाका किसानहरुले जहाँ जहाँ चासोका साथ व्यवसायिकरुपमा बाख्रापालन गरेका छन्, ती किसानहरुको माग र आवस्यकता अनुसार बाख्रा वितरण गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि यसैगरी वितरण गर्दैजाने जानकारी गराउनुभयो । यसका साथै स्थानीय उद्यम विकासका लागि बङ्गुरका बच्चा वितरण गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष सुवेदीले बताउनुभयो ।
आ-आफ्नो ठाउँमा कहाँ कुन पेशाबाट लाभलिन सकिन्छ, त्यसको पहिचान गरेर व्यवसायिकरुपमा लाग्न वडावासीहरुलाई अध्यक्ष सुवेदीले आग्रह गर्नुभयो ।
हामी सबैको जीवन जिउने आधार कृषि उत्पादन भएकाले वडाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको अध्यक्ष सुवेदीले उल्लेख गर्नुभयो ।
मङ्गलबार वडा कार्यालय परिसरमा एक कार्यक्रम सहित वडाका सन्तोष सुवेदी, कमल सुवेदी र केशव पङ्गेनीलाई बीउबोका प्रदान गरिएको हो ।
