मोहन सिंह सुनार ।
साउन ११, स्याङ्जा । स्याङ्जाको वालिमा हरित पुन उत्थान प्रर्वद्धन परियोजना सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्धेशीय सहकारी संस्थाद्वारा परियोजनाको सुरुवात गरिएको हो ।
परियोजनाको सुरुवात गरिएको बारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँडले झण्डै दश महिना सञ्चालन हुने यस परियोजनाले वालिङ नगरपालिकामा फोहोरमैलाबाट आर्थिक उपार्जन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
उहाँले वालिङ नगरपालिकामा उत्पादन भएका फोेहोरलाई व्यवस्थापन गरी आर्थिक उपार्जनको माध्यम बनाउन यस परियोजनाको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
कुल ४ करोड २१ लाख ३१ हजारको लागतमा सुरु गरिएको यस परियोजनामा वालिङ नगपालिकाले ३ करोड १५ लाख ५६ हजार तथा युएनडीपीको १ करोड ६३ लाख ७४ हजार लागत रहेको छ । कार्यक्रमको पहिलो वर्षमा अनौपचारिक फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करिब १ हजार जनालाई लक्षित गर्दै सीप तथा रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य नगरपालिकाको छ ।
फोहोर व्यवस्थापन श्रोतबाट नै सुरु हुनुपर्छ भन्ने अवधारण सहित सुरुवात गरिएको यस परियोजनाले घर,उद्योग,व्यवसाय तथा संघ संस्थामा फोहोरको वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गर्ने उद्धेश्य राखेको छ ।