साउन १७, पर्वत । पर्वतमा अनिश्तिकालको लागि निशेधाज्ञा जारी गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड –१९ को संक्रमण जिल्लामा फेरी बढेको कारण साउन १७ गते आइतबार राती १२ बजेदेखि अर्को सुचना नआउँदासम्मको लागि निशेधाज्ञा जारी गरिएको हो ।
आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निशेधाज्ञा गर्ने निर्णय गरेको हो ।
निशेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कने, मास्कको अनिवार्य प्रयोग गर्ने, अनावश्यक भीडभाड नगर्ने सहितका आदेश प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।
त्यस्तै जात्रा,मेला,महोत्सव,गोष्ठी,सम्मेलन, सेमिनार लगायतका मानिस जम्मा हुने कुनै पनि गतिविधि गर्न निशेध गरिएको छ ।
निशेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गरेर कक्षा ११ र १२ को परीक्षा भने सञ्चालन गर्न सकिने छ । विद्यालयमा भौतिक रुपमा उपस्थित नहुने गरी शिक्षण सिकाई सञ्चालन गर्न आदेशमा उल्लेख गरिएको छ ।
आदेशको पालना निशेधित क्रियाकलाप गर्नेलाई संक्रमक रोग ऐन २०२०,स्थानीय प्रशासन ऐन २०२८ तथा कोभिड –१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको निशेधाज्ञा आदेशमा उल्लेख गरिएको छ ।